एकदिवसीय विश्वकप आजबाट, पहिलो खेलमा न्यूजिल्यान्ड र इङ्ल्यान्ड भिड्दै
१३औं संस्करणको पुरुष एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आजबाट शुरू हुँदै छ।
विश्वकपको पहिलो खेलमा आज इङ्ल्यान्ड र न्यूजिल्यान्ड भिड्नेछन्। यी दुई टोली सन् २०१९ को विश्वकपको फाइनलमा उपाधिका लागि पनि भिडेका थिए। त्यति वेला निर्धारित ५० ओभरमा खेल बराबरी भएपछि सुपर ओभर मार्फत नतीजा निकाल्न खोजिएको थियो। तर सुपर ओभरमा समेत बराबरी भएपछि बाउन्ड्री (चौका/छक्का) प्रहार गरेको आधारमा इङ्ल्यान्डलाई विजेता घोषणा गरिएको थियो।
साविक विजेता इङ्ल्यान्ड अहिले पनि उपाधिको दाबेदार हो। एकदिवसीय वरीयतामा पाँचौं स्थानमा रहे पनि बलियो ‘ब्याटिङ अर्डर’ का कारण यस पटक पनि यस टोलीलाई उपाधिको दाबेदार मानिएको छ।
यस्तै, न्यूजिल्यान्ड पनि अहिले उत्कृष्ट लयमा रहेको टोली हो। एकदिवसीय वरीयतामा यो टोली छैटौं स्थानमा छ।
तर आजको खेलमा न्यूजिल्यान्ड आफ्ना अति महत्त्वपूर्ण दुई सदस्य विनै मैदानमा उत्रनेछ। नियमित कप्तान केन विलियमसनले आजको खेल गुमाउनेछन्। घुँडामा चोट लागेका कारण लामो समय टीम बाहिर रहेका विलियमसनलाई विश्वकपकै लागि भनेर १५ सदस्यीय टोलीमा समेटिएको थियो। उनले पाकिस्तान विरुद्धको अभ्यास खेलमा ब्याटिङ गरेको भए पनि उनी पूर्णतः निको भएका छैनन्।
यस्तै, न्यूजिल्यान्डका प्रमुख तीव्र गतिका बलर टिम साउथी पनि आज टीम बाहिर हुनेछन्। केही साताअघि इङ्ल्यान्ड विरुद्धको खेलमा बूढीऔंलामा चोट लागेका कारण उनले आजको खेल गुमाउने भएका हुन्।
इङ्ल्यान्डले पनि चोटका कारण आफ्नो मुख्य खेलाडी गुमाउन सक्ने अवस्था छ। ‘हिप’ मा समस्या भएकाले अलराउन्डर बेन स्टोक्सले आजको खेल खेल्ने वा नखेल्ने टुङ्गो छैन।
आजको खेल नेपाली समय अनुसार दिउँसो २:१५ बाट शुरू हुनेछ। खेल अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा हुनेछ।