याक चौंरी कृषक महासंघ औपचारिक रूपमा गठन
याक चौंरी कृषक महासंघ, नेपाल औपचारिक रूपमा गठन भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय र पशु सेवा विभागसँगको सहकार्यमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले काठमाडौंमा दुईदिने कार्यक्रम गरी महासंघको विधान (२०८०) जारी गर्दै संस्था गठन प्रक्रियालाई औपचारिकता दिएको हो।
कृषि मन्त्रालयका सचिव रेवतीरमण पौडेल एवं सहसचिव सूर्यप्रसाद पौडेल, पशु सेवा विभागका उपमहानिर्देशक सुलोचना श्रेष्ठ, याक चौंरी कृषक महासंघका अध्यक्ष दावा साङ्ग्बु शेर्पा र इसिमोडका महानिर्देशक पेमा ज्याम्शोले संयुक्त रूपमा महासंघको विधान सार्वजनिक गरेका हुन्।
नवगठित महासंघका अध्यक्ष शेर्पाले महासंघको घोषणा तथा कार्यसमितिको परिचय प्रस्तुत गर्दै कार्यसमिति सदस्यलाई शपथ ग्रहण गराएका थिए। शेर्पाले पशुचरनमा आबद्ध कृषकको संस्कृतिको पुस्तान्तरण महासंघको उद्देश्य रहेको बताएका थिए।
कार्यक्रममा इसिमोडका महानिर्देशक पेमा ज्याम्शोले महासंघको औपचारिक गठन हुनु उच्च हिमाली क्षेत्रमा प्रतिकूल मौसमसँग जुधिरहेका याक, नाक तथा चौंरी र सम्बन्धित कृषकका लागि ऐतिहासिक उपलब्धि रहेको बताए। उनले याक हिमाली संस्कृतिको हिस्सा भएकाले पनि यसको पर्यटकीय महत्त्व उच्च रहेको बताए। “चीनमा याकको संख्या निकै राम्रो छ। उसले याकलाई एग्रो-टुरिजमसँग जोडेर त्यसलाई ब्रान्डिङ गरिरहेको छ। नेपालले पनि सो कार्य गर्न सक्छ,” उनले भने।
जलवायु परिवर्तनका कारण निम्तिएका जोखिम एवं कृषकको लगानी सुनिश्चित नहुनाले घटिरहेको याक तथा चौंरीको संख्या वृद्धि गर्न यस्ता कार्यक्रम फलदायी हुने समेत उनले बताए।
यसैगरी, कार्यक्रमका प्रमुख अतिथि तथा कृषि मन्त्रालयका सचिव रेवतीरमण पौडेलले नेपालमा २९ जिल्लामा याक तथा चौंरी पालन हुँदै आएको आधिकारिक तथ्याङ्क स्मरण गर्दै प्रस्तुत विधानले सबै जिल्लाका कृषकलाई समेट्ने विश्वास व्यक्त गरे।
पौडेलले याक तथा चौंरी पर्यटनका लागि आकर्षक वस्तु भएकाले यसबाट उत्पादित वस्तुलाई ‘स्पेस्लाइज्ड प्रोडक्ट’ का रूपमा ब्रान्डिङ गर्न सकिने बताए। “ब्रान्डिङ गर्दा हाम्रा याक तथा चौंरीले केकस्ता जडीबुटी खाएका छन् वा महिलाहरूले कस्ता वस्तु उत्पादन गरिरहेका छन् भनेर यसलाई विशिष्टीकृत गर्न सकिन्छ,” उनले भने।