एमाले गण्डकीमा प्यानल बनाएरै चुनावी प्रतिस्पर्धा
गण्डकी प्रदेश कमिटीका लागि एमाले नेताहरू प्यानल बनाएरै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
नेकपा (एमाले) गण्डकी प्रदेशको नयाँ नेतृत्वका लागि मतदान प्रक्रिया एक दिन पछाडि धकेलिएको छ। बुधबार दिनभरि पानी परेको र उम्मेदवारी दर्ता गर्न ढिलाइ भएकाले मतदान गर्न नसकिएको निर्वाचन कमिटीले जनाएको छ। “उम्मेदवारी दिन र नाम फिर्ता लिने काम भइरहेको छ। अब आज मतदान नहुने भयो,” प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले भने।
प्रदेश कमिटीका १६५ पदमा ३८२ जनाको उम्मेदवारी परेको छ। जसमध्ये २७ जना निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत मगरले जानकारी दिए।
बिहीबार मतदान हुने भए पनि समय यकीन हुन बाँकी रहेको उनको भनाइ छ। प्रदेश नेतृत्व चयनका लागि मशिनबाट मतदान गर्ने तयारी भइरहेको छ।
प्रदेश अध्यक्षका लागि नवराज शर्मा र मायानाथ अधिकारीबीच प्रतिस्पर्धा हुँदै छ। प्रदेश नेतृत्वका लागि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र महासचिव शंकर पोखरेल समूहले प्यानल बनाएरै उम्मेदवारी दर्ता गराएका छन्।
हालका अध्यक्ष शर्मा उपमहासचिव गुरुङ पक्षका नेता हुन्। उनको प्यानलबाट उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी, उपसचिवमा मञ्जु अधिकारी र दामबहादुर विकले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै, महासचिव पोखरेल पक्षका नेता अधिकारीको प्यानलबाट उपाध्यक्षमा बाबुराम विक, सचिवमा रश्मि आचार्य, उपसचिवमा सन्तोष रावल र मिना गुरुङले उम्मेदवारी दर्ता गरेका छन्। सर्वसम्मत नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि दुवै समूहले बुधबार बिहान छुट्टाछुट्टै प्यानल घोषणा गरेका थिए।
पोखरा सभागृहमा जारी अधिवेशनले पाँच पदाधिकारी सहित १६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ। अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९०८ प्रतिनिधि सहभागी छन्।