‘तोरी छर्ने पानी’ ले धान बाली सोत्तर
नेपालबाट मनसुन बाहिरिने वेला भइरहेको वर्षाले ठूलै विपद् ननिम्त्याए पनि धान बालीलाई भने असर पर्ने कृषिविद्हरू बताउँछन्।
हिले दशैं। यदि यो वर्ष मलमास नपरेको भए ‘हिले दशैं’ हुन्थ्यो। पानी परेको वेलाको दशैंलाई ‘हिले दशैं’ भन्ने गरिन्छ। पोहोर पनि असोजमा तीन-चार दिन पानी परेर दशैं हिलाम्मे भएको थियो।
यस पटक पछाडि सरेकाले दशैं हिले हुनबाट त जोगिएको छ तर किसानलाई भने सन्तोष छैन। अहिले परेको पानीले पाकेको धानलाई असर गर्ने देखिएको छ।
अहिलेको पानीले धानलाई नोक्सान गर्ने नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय आनुवांशिक स्रोत केन्द्र (जीन ब्यांंक)का प्रमुख धानविद् बालकृष्ण जोशी बताउँछन्। “देशभर धान परिपक्व भएर काट्ने वेला हुन आँटेको छ,” जोशी भन्छन्, “अहिलेको पानीले धानलाई फाइदा गर्दैन।”
यो पानीले धान किसानलाई पनि तनाव बढाएको छ। कृषिविज्ञ पनि चिन्ता जनाउँछन्। यो वर्षात्ले धानको गुणस्तर घटाउने धानविद् जोशी बताउँछन्।
असोजको मध्यतिर मनसुन बाहिरिने क्रममा पानी पर्ने गरेको छ। यस्तो पानीलाई गाउँघरतिर ‘तोरी छर्ने पानी’ पनि भन्ने गरिन्छ। तोरी नहुने ठाउँमा कोदो वा गहुँ छर्न पनि यो पानी उपयोगी हुन्छ।
नेपालमा रोपाइँको अधिकतर काम असार-साउनमा हुन्छ। अचेल नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले सिफारिश गरेको चाँडो पाक्ने धानका जात लगाउने गरिन्छ। जुन धान ११५ दिन तथा १२० दिनमा पाक्छ। अहिले अधिकांश ठाउँमा धान पाकिसकेको वा पाक्नै आँटेको छ।
नेपालमा अधिक लगाइने धान प्रजाति ‘राधा-४’ लगायत पाकेर काट्न थालिएको छ। “खास गरेर नारायणीदेखिको पश्चिम क्षेत्रमा चाँडै रोपाइँ हुन्छ र चाँडो पाक्ने धान लगाइन्छ,” बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका वरिष्ठ बाली विकास अधिकृत मुकुन्द भुसाल भन्छन्, “धान काटेपछि पछि गहुँ लगाउन चाँडै रोपाइँ भएका ठाउँमा यो पानीले धान भिज्ने डर छ।”
ढिलो पाक्ने जातलाई खासै असर नगरे पनि बाला लागेर छिप्पिने वेला भएको धानका लागि भने यो पानी घातक हुने भुसाल बताउँछन्। “काटिसकेको धान भिज्ने, टुसा उम्रने, गुणस्तर बिग्रने हुन सक्छ,” उनी भन्छन्, “नकाटेको छ भने त बोट नढले केही हुँदैन।”
धेरै पानी आयो भने बोट ढल्ने डर हुन्छ। “काटेर चुट्नका लागि भुइँमा सुताएको वेला पानी पर्यो भने त बर्बादै हुन्छ। भिज्यो भने उम्रने, गुणस्तर नराम्रो हुने, त्यस्तो दानाको चामल पनि नराम्रो हुन्छ,” भुसाल भन्छन्।
असोजको आधाआधी देशैभरि धान पाक्ने समय हो। अहिलेको पानीले धेरै नै क्षति पुग्ला कि भन्ने डर भएको नार्कका बालीविज्ञ भीमसेन चौलागाईं बताउँछन्। विशेषगरी मध्यपहाडमा असार-साउनमा लगाएको धान कात्तिकको पहिलो सातादेखि भित्र्याउन थालिन्छ। “पानीले धान ढल्दा समग्र उत्पादन नै ३० प्रतिशत हाराहारी कम होला कि भन्ने डर छ,” चौलागाईं भन्छन्।
नार्कका अनुसार वर्षाले लोकल धानका जात खुमल-४, खुमल-१०, ताइचिन ढलेका छन्। छोटे मसिनो भनिने खुमल बासमती-१६ होचो बोट भएकाले अहिलेसम्म जोगिएको उनी बताउँछन्। “हाइब्रिड जातको ‘एक्ले धान’ को बोट अलि दह्रो भएका कारण ढलेको छैन, नत्र अग्लो बोट हुने स्थानीय धान चाहिं ढलेको छ,” चौलागाईं भन्छन्। पाक्ने वेला भएकाले बालाको तौलले गर्दा बोट उभिन नसक्ने उनको भनाइ छ।
कहिले खुल्छ आकाश?
जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झा मनसुन केही दिन लम्बिएको बताउँछन्। नेपालको मनसुन २ अक्टुबरसम्म रहने गरेको भए पनि यस वर्ष दुई दिन लम्बिएको झा बताउँछन्। “धेरै वर्षा त बुधबार बेलुकासम्म मात्रै हो। बिहीबार बिहानदेखि पश्चिमबाट क्रमशः मौसम सुधार हुँदै जाने देखिन्छ,” मौसमविद् झा भन्छन्।
केही भूभागमा सामान्य वर्षा बिहीबार पनि हुने जनाइएको छ। तर केही दिनयताको जस्तो निरन्तर वर्षा नहुने उनी बताउँछन्।
भारतको बिहार र झारखण्ड क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीले गर्दा पानी परिरहेको उनी बताउँछन्। यो प्रणाली बाहिरिने बित्तिकै मौसममा सुधार आउने बताउँदै मौसमविद् झा भन्छन्, “दुई-तीन दिनमा मौसम पूर्णतः सुधार हुन्छ।”