नेपालगन्ज घटना विदेशी षड्यन्त्रको परिणाम: जनमोर्चा
राष्ट्रिय जनमोर्चाले नेपालगन्जमा देखिएको तनाव विदेशी राजनीतिक षड्यन्त्रको परिणाम भएको जनाएको छ।
भारतबाट आएका व्यक्तिहरूले गर्दा नेपालगन्जमा तनाव देखिएको जनमोर्चाको ठहर छ। जनमोर्चा उपाध्यक्ष दुर्गा पाैडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “त्यो सुनियोजित देशी र विदेशी राजनीतिक षड्यन्त्रको परिणाम हो र त्यसबाट देशको राष्ट्रियता, अखण्डता, धर्मनिरपेक्षता तथा शान्ति सुरक्षामा समेत गम्भीर दुष्परिणामहरू हुन सक्छन्।”
जनमोर्चाले अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाउन अपील गरेको छ।
तनाव हुन लागेको भन्दै जिल्ला प्रशासन कार्यालय, बाँकेले नेपालगन्जमा मंगलबारदेखि कर्फ्यू लगाएको छ। मंगलबार प्रदर्शनका क्रममा पाँच जना सुरक्षाकर्मी सहित २२ जना घाइते भएका थिए। उनीहरूमध्ये २१ जना उपचारपछि घर फर्किसकेका छन् भने भेरी अस्पतालमा एक जनाकाे उपचार चलिरहेको छ।