फागुन १ गतेको बिदा फिर्ता हुँदैन : सरकार
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले फागुन १ गतेको सार्वजनिक बिदा फिर्ता नहुने बताएकी छन्।
माओवादीले सशस्त्र युद्ध शुरू गरेको दिनलाई ‘जनयुद्ध’ दिवसका रूपमा मनाउन मन्त्रिपरिषद्ले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। यस विषयलाई लिएर नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले असोज १६ गते प्रतिनिधि सभाको बैठकमा आफ्नो धारणा राखेका थिए। ओलीले फागुन १ गतेको सार्वजनिक बिदा फिर्ता हुनुपर्ने बताएका थिए।
त्यसलाई लिएर मन्त्री शर्माले स्पष्टीकरण दिएकी हुन्। बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा फागुन १ गतेको बिदा सम्बन्धी सोधिएको प्रश्नको जवाफमा मन्त्री शर्माले भनिन्, “मन्त्रिपरिषद्ले गरेको निर्णयबाट सरकार तलमाथि भएको छैन, हुँदैन पनि।”
एमालेसँग गठबन्धनमा रहेकै वेलाको सरकारले यो निर्णय गरेको उनको भनाइ थियो। “हिजो हामी नेकपा (एमाले)सँग गठबन्धनमा थियौं। त्यति वेलाको सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरेको थियो,” मन्त्री शर्माले भनिन्, “मन्त्रिपरिषद्ले गरेको निर्णय संसद्मा एक जना नेताले बोलेपछि के हुन्छ भन्ने त प्रश्न रहेन। मन्त्रिपरिषद्ले निर्णय गरेको भएकाले मनाएर जाने हुन्छ।”
एमाले अध्यक्ष ओलीले बोलेको कुरामा सरकारको असहमति रहेको उनको भनाइ थियो। “हिजोको सम्झनालाई, हिजो सबैले गरेको शहादत, बलिदानलाई सम्मान गरेरै जनयुद्ध दिवस मनाउने नेपाल सरकारले निर्णय गरेको हो। त्यसकारण यसमा अन्यथा बुझ्न आवश्यक छैन,” शर्माले भनिन्।