डा. तोसिमाको पानी प्रकरण र जंगबहादुरको १७७ वर्ष पुरानाे सन्दर्भ
खासगरी वामपन्थी राजनीति गर्नेहरू पञ्चायतकालको भूमिगत जीवनमा धेरैजसो दलितको घरमा आश्रय लिन्थे। पाल्पा, तानसेनस्थित मेरो घरमा पनि तत्कालीन मालेका नेताहरू आउँथे।
सामाजिक सञ्जालमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. तोसिमा कार्कीको एउटा भिडिओ अनि त्यसैसँग सम्बद्ध तस्वीर निकै भाइरल छन्। भिडिओमा कार्की डोटीको दुर्गम गाउँमा दलित महिलाको हातबाट पानी पिइरहेकी छन्।
कमेन्टमा कतिले यसलाई साहसिक कदम त धेरैले वाहियात ‘स्टन्ट’ भनेका छन्। मेरो बुझाइमा चाहिं यसले नयाँ अनि परिवर्तनकामी भनिएको पार्टीकी सांसद अझै पनि पुरातनपन्थी र सामन्तवादी सोचले ग्रस्त रहेको उजागर गरेको छ।
सांसद कार्कीको यो भिडिओले जंगबहादुर राणाको पालाको एउटा प्रसङ्ग सान्दर्भिक बनेको छ। दलित अग्रज डिकबहादुर विश्वकर्माका अनुसार कोतपर्व मार्फत सत्ता हत्याउनुभन्दा पहिले जंगबहादुर नामूद जुवाडे थिए। जुवाकै लागि सयौं जनासँग ऋण लिन पछि पर्दैनथे। तिर्न नसकेपछि भने महीनौं लुकेर बस्थे।
यसरी लुक्ने सिलसिलामा एक दिन कुनै सार्की महिलाको घरमा पुगे। ती महिलासँग तिनको ‘लसपस’ पनि भयो भनिन्छ। दलितले छोएको पानी खाँदा समेत कारबाहीको भागीदार हुनुपर्ने त्यो समाजमा जंगबहादुरले जातिच्युत नै हुन सक्ने अपराध गरेका थिए। तर घटनाले त्यति व्यापकता पाएन।
जंगबहादुरले काठमाडौंका रैथाने धर्मनारायण मानन्धरबाट पनि ऋण लिएका थिए। त्यही गुन तिर्न उनले सत्तामा आएपछि मानन्धर समुदायको पानी चल्ने बनाइदिएको मोहनदास मानन्धरले १० वर्ष पहिले यो पंक्तिकारलाई बताएका थिए। उनका अनुसार तेल सम्बन्धी एउटा घटनालाई निहुँ बनाएर मल्लकालमा जात घटुवामा परेपछि मानन्धर वा साल्मी समुुदायको काँचो तेल चल्ने तर पानी नचल्ने बनाइएकाे थियो।
आफूलाई लुक्न मद्दत गर्ने ती सार्की महिलालाई लगाएको गुन पनि यस्तै केही गरेर तिर्न चाहन्थे उनी। भनिन्छ, पछि जंगबहादुरले ती महिलाकाे समुदायलाई कामी समुदायकै बराबरी दर्जा दिनुमा यही कारण थियो। अहिले झन्डै १७७ वर्षपछि डा. तोसिमाले त्यस्तै प्रकृतिको ‘स्टन्ट’ गरेकी छन् तर यसले दलित समुदायलाई माथि ल्याउने नभई उल्टै अपमान गरेको भान हुन्छ।
तोसिमा पेशाले चिकित्सक हुन्। चिकित्सा पेशामा जातका आधारमा कसैलाई विभेद गर्न मिल्दैन। दलितले पञ्चायतकालदेखि नै स्वास्थ्य केन्द्रमा प्रत्यक्ष रूपमा विभेद भोगेनन्, अहिले त छुवाछूतविरुद्धको संवैधानिक हक नै पाइसकेका छन्।
त्यसमाथि अहिले रास्वपामा प्रतिनिधि सभामा रहेका २१ सांसदमध्ये दुई जना दलित समुदायबाट छन्। उनीहरूसँग तोसिमाको उठबस भइरहन्छ। के तोसिमाले आफ्नै सांसदको हातबाट पनि यसरी पानी खाएको ‘स्टन्ट’ गर्न सक्छिन् त?
गैरदलितले दलितसँग छुवाछूतमुक्त व्यवहार थालेको अहिले होइन, भलै त्यो राजनीतिक उद्देश्यले प्रेरित थियो। खासगरी वामपन्थी राजनीति गर्नेहरू पञ्चायतकालको भूमिगत जीवनमा धेरैजसो दलितको घरमा आश्रय लिन्थे। पाल्पा, तानसेनस्थित मेरो घरमा पनि तत्कालीन मालेका नेताहरू आउँथे।
यसमा दुई उद्देश्य हुन्थे। पहिलो, गाँस र वास सहज रूपमा जुटाउनु। अर्को, कम्युनिस्ट विचारधारामा दलितलाई समाहित गर्नु। कम्युनिस्ट भनेका गरीब र दलितलाई मुक्ति दिने व्यक्ति हुन् भन्ने धारणा आमदलितमा थियो। फलस्वरूप अहिले पनि लाखौंको संख्यामा दलितले आफूलाई कम्युनिस्ट भन्ने पार्टीलाई साथ-सहयोग गरिरहेछन्।
दलितहरू दशैंमा बनाएको सुँगुर र राँगाको सुकुटी दुई-तीन महीनासम्मै खाइरहन्थे। त्यो सुकुटी बाहुन-छेत्री युवाका बीचमा अत्यन्त प्रिय थियो। धार्मिक कारणले घरमा खान नपाउने भएकाले उनीहरू दलितका घरमा आई लुकीछिपी खान्थे। यही क्रममा दलितका छोरी-चेलीसँग प्रेम सम्बन्ध पनि गाँसिन्थ्यो।
जसले परिवारसँग विद्रोह गर्थे उनीहरू आफू जातिच्युत भएर पनि दलितका छोरी-चेलीसँग बिहे गरेर अलग जीवन जिउँथे। जसले विद्रोह गर्न सक्दैनथे, तिनले बिचल्लीमा पारेर छोड्थे। त्यसका विभिन्न स्वरूप अहिले पनि समाजमा देख्न पाइन्छ।
पञ्चायतमै जसरी कम्युनिस्टहरूले दलितलाई माओवादी सशस्त्र द्वन्द्वमा पनि उपयोग गरे। यसको सजीव चित्रण कालो पोथी फिल्ममा निर्देशक मीनबहादुर भामले गरेका छन्, जसमा एउटी दलित केटी कसरी माओवादी ‘जनयुद्ध’ मा लाग्छिन् भनेर देखाइएको छ।
त्यति वेला माओवादीहरू दलितको घरमा आश्रय मात्र लिंदैनथे, परिवारको एउटा सदस्यलाई ‘जनयुद्ध’ मा सामेल हुन उर्दी नै जारी गर्थे। यसको बदलामा उनीहरूले जातीय विभेद विरुद्ध अभियान नै चलाएर कैयौं दलित लडाकूलाई गैरदलितको चुलाचोटामा छिराएका थिए। सशस्त्र द्वन्द्वको अवधिभर गठित स्थानीय जनसरकारका प्रमुख समेत दलितलाई बनाइएको थियो।
यसरी माओवादीमा दलितको अत्यधिक प्रवेश भएपछि राज्यपक्षले एउटा साङ्केतिक शब्द ‘दकासा’ प्रचलनमा ल्याएको थियो। त्यसको अर्थ हुन्छ- दमाईं, कामी, सार्की। तत्कालीन शाही सेनाले बाटोबाटोमा गाडी रोकेर यात्रुका झोला तथा सामान जाँच्थ्यो। जाँचबुझमा ‘दकासा’ भित्रका कुनै व्यक्ति भेटिए, उसलाई अलग कोठामा लगेर केरकार गरिन्थ्यो। ऊ अरूभन्दा बढी यातनाको भागीदार हुन्थ्यो।
नेपाली सेनाभित्र दलितलाई अत्यधिक विभेद हुने गरेको गुनासो लामो समयदेखि थियो। त्यसलाई चिर्न तत्कालीन प्रधानसेनापति रुकमाङ्गद कटवाल चितवनको एक दलित जवानको घर गएर पानी पनि पिएका थिए। बाबुराम भट्टराई प्रधानमन्त्री भएका वेला हरेक महीनाजसो एक जना गरिब वा दलितको घरमा गई बस्ने-खाने गरेका थिए। भलै पछि त्यस्ता परिवारलाई प्रधानमन्त्रीको स्वागत-सत्कार र खाना जुटाउँदा ऋण लागेको समाचार पनि आएको थियो।
रास्वपाका सभापति रवि लामिछानेले अहिले गेरुवस्त्र लगाएर मन्दिर मन्दिर चहारेका, नदीमा तर्पण दिएका तस्वीर तथा भिडिओ सामाजिक सञ्जालमा हेर्न पाईन्छ। धर्मनिरपेक्षताबारे रास्वपा मौन छ भने संघीयताप्रति उसको दृष्टिकोण नै छैन। समानुपातिक कोटामा दलित राख्नुपर्ने बाध्यता हुन्नथ्यो त दलित समुदायबाट दुई जना दलित सांसद पनि पर्थे/पर्दैनथे, थाहा छैन।
यद्यपि रास्वपाले दलितभित्र पनि बौद्धिक व्यक्तित्व छन् र उनीहरूले पार्टीको सचेतक जस्तो महत्त्वपूर्ण पद राम्रोसँग निर्वाह गर्न सक्छन् भन्ने सन्देश सन्तोष परियार मार्फत दिएको छ। तर तोसिमाले डोटीको दलित गाउँमा जुन ‘स्टन्ट’ गरेकी छन्, त्यसले उनको बौद्धिक दरिद्रता स्पष्ट देखाएको छ। दलितको घरमा पानी पिउनुलाई ठूलो गुन लगाए जसरी प्रचार गर्नु सामन्ती व्यवहार नै हो।
रास्वपा तुलनात्मक रूपमा युवाको पार्टी हो। दलितका सवालमा त अनिर्णीत र दृष्टिकोणविहीन नै छ। दलित तथा अन्य उत्पीडित समुदायको सामाजिक न्यायका सन्दर्भमा गम्भीर छ भने आफ्ना व्यवहार र दृष्टिकोण स्पष्ट पार्दै यस्ता ‘स्टन्ट’ हरू गर्न छाड्नुपर्छ।