केही तत्त्व सद्भाव खलबल्याउन लागिरहेका छन्: नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केही तत्त्व सद्भाव खलबल्याउन लागिरहेको बताएका छन्।
“अहिले देशमा केही तत्त्वहरू साम्प्रदायिक विवाद मच्चाएर पुरानो व्यवस्था फर्काउन खोजिरहेका छन्,” पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, “नेपाल बहुलवादी समाज भएकाले कसैले भड्काउँदैमा सद्भाव खलबलिंदैन।”
वर्तमान सरकारले केही राम्रा काम गरेको र केही राम्रा काम गर्न खोजेकाले परिवर्तनको कुरा गर्न नहुने जिकिर उनको थियो। “सरकारले राम्रो काम गरिरहेको छ, यस्तो वेला सरकारलाई अस्थिर बनाउनु हुँदैन,” नेपालले भने, “कसैले प्रधानमन्त्री परिवर्तन हुन्छ, कोही प्रधानमन्त्री बन्छ भनेर बसेका छन् भने त्यो सम्भव छैन, यसमा कसैले मुख मिठ्याउनु हुँदैन।”
एकीकृत समाजवादीले सञ्चालन गरेको समाजवाद अभियान अन्तर्गत जनकपुर पुगेका नेपालले सञ्चारकर्मीसँगको कुराकानीमा सरकार ढल्ने कुरामा सत्यता नभएको बताए। कांग्रेस पनि यताउता गर्ने पक्षमा नरहेको उनको भनाइ थियो।
कांग्रेसको एक समूहले प्रधानमन्त्री पुष्पकमल दाहालको विकल्प खोज्न थालेको विषयमा सोधिएको प्रश्नमा नेपालले भने, “कुनै समूह र व्यक्तिले भनेर केही हुँदैन। सरकारका केही कमीकमजोरी भए पनि सुधार गर्न लागिरहेका छौं।”
पुष्पलाल श्रेष्ठले स्थापना गरेको कम्युनिस्ट पार्टीको उत्तराधिकारी एकीकृत समाजवादी भएकाले जनहितका कार्य गर्दै जनताका समस्यालाई सम्बोधन गरेर अगाडि बढ्न लागिपरेको उनले बताए। संविधानमा उल्लिखित समाजवादका मुख्य आधार शिक्षा, स्वास्थ्य, रोजगारका लागि आफूहरू केन्द्रित रहेको र समृद्धि तथा सुशासनका लागि मेची महाकाली अभियान सञ्चालन गरिएको नेपालको भनाइ थियो।