खाद्य सुरक्षा बढाउन एएफयूमा बागवानी परियोजना शुरू
खाद्य सुरक्षा बढाउने विषयमा अध्ययन तथा अनुसन्धान गर्न नेपाल र बाङ्लादेशका विश्वविद्यालयले बागवानी परियोजना शुरू गरेका छन्।
कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा ‘एड्भान्स्ड टेक्नोलोजी बेस्ड अर्वान एन्ड पेरि-अर्वान हर्टिकल्चर इन बाङ्लादेश एन्ड नेपाल’ परियोजना शुरू भएको छ। एएफयू र बाङ्लादेश कृषि विश्वविद्यालय मार्फत शहरी र अर्धशहरी (काँठ) क्षेत्रमा सञ्चालन हुने परियोजनाको अवधि ४२ महीना छ।
परियोजना अन्तर्गत नेपालमा खाद्य सुरक्षा बढाउन फलफूल तथा तरकारीका गुणस्तरीय बिरुवा उत्पादन एवं अनुसन्धान तथा बाङ्लादेशमा कौसी खेतीबारे अध्ययन तथा अनुसन्धान गरिने परियोजना प्रमुख एवं कृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोग अध्यक्ष प्रा. कल्याणी मिश्र त्रिपाठीले बताइन्। यसका लागि मकवानपुर, कपिलवस्तु, काभ्रेपलाञ्चोक र पाल्पामा एक/एक नर्सरी छनोट गरिने परियोजना प्रमुख त्रिपाठीले जानकारी दिइन्।
मकवानपुर र कपिलवस्तुमा नर्सरी छनोट भइसकेको छ। काभ्रे र पाल्पामा छनोटको प्रक्रिया अघि बढेको जनाइएको छ। “छनोट भएका नर्सरीलाई बागवानी स्रोत केन्द्रका रूपमा विकास गरिनेछ,” उनले भनिन्, “टिस्यू कल्चर प्रयोगशाला, विषयविज्ञ, सीड सेन्टर एवं अरू किसानसँग जोड्छौं।”
त्यस्तै, नर्सरीको व्यावसायिक योजना निर्माण, अनुसन्धान एव आवश्यक स्रोतसाधनका लागि परियोजना मार्फत सहयोग प्रदान गरिने भएको छ। बिरुवाको पात, डाँठ जुनसुकै भागको कुनै अंश प्रयोगशालामा परीक्षण गरेर रोग नलाग्ने स्वस्थ बिरुवा उत्पादन गरिने भएकाले किसानलाई सहज हुने विश्वविद्यालयका उपप्राध्यापक एवं परियोजना सहायक प्रसिद थापाले बताए।
“रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले कीरा लाग्ने, बोटबिरुवा क्षति हुने सम्भावना ज्यादै कम हुन्छ। प्रयोगशालाको नियन्त्रणमा आवश्यकता अनुसारका बिरुवा उत्पादन गर्न सकिन्छ,” थापाले भने, “अहिले किसानले बजारमा जस्तो बिरुवा पाउँछन्, त्यही बिरुवा लगाउन बाध्य छन्। त्यसले उत्पादन राम्रो नहुने, समयमा नै उत्पादन नहुने समस्या भोग्नुपरेको छ।”
परियोजना अन्तर्गत फलफूलमा कागती, केरा, स्ट्रबेरी, किबी र मेवा तथा तरकारीमा साग, बोडी, काँक्रो, खुर्सानी लगायत बिरुवाको उत्पादन एवं अनुसन्धान गरिनेछ।
यस्तै, कास्कीको पोखरा महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका र काठमाडौंको काठमाडौं महानगरपालिकाको शहरी क्षेत्रमा कौसी खेती गर्न सकिने सम्भावित क्षेत्रको तथ्याङ्क सङ्कलन गरिनेछ। अमेरिकाको न्यू जर्सी स्टेट युनिभर्सिटीका विज्ञले स्याटेलाइट मार्फत यो अध्ययन गर्ने परियोजना प्रमुख प्रा. त्रिपाठीले बताइन्।
एएफयूमा यो परियोजना शुरू हुनु नै एक महत्त्वपूर्ण अवसर भएको उपकुलपति प्रा. पुण्यप्रसाद रेग्मीले बताए। विश्वविद्यालयका आङ्गिक कलेज र अनुसन्धान केन्द्रलाई अनुसन्धान र उत्पादनको स्रोत केन्द्र बनाउन विश्वविद्यालयले प्राथमिकता दिएको उपकुलपति रेग्मीको भनाइ थियो।
शहरी क्षेत्रका उत्पादन नहुने स्थानलाई उत्पादनशील बनाउन परियोजना उपयोगी हुने रजिस्ट्रार प्रा. शारदा थपलियाले बताइन्। विश्वविद्यालयसँग जोडिएको परियोजना मार्फत विश्वविद्यालयको दक्षता र प्रयोगशालालाई पनि अधिकतम प्रयोग गर्न उनले आग्रह गरिन्।
यूएसएआईडी फीड द फ्युचर कार्यक्रमका लागि युनिभर्सिटी अफ क्यालिफोर्निया डेभिसले परियोजना प्रस्ताव आह्वान गरेको थियो। जसमा दक्षिणएशियाबाट ३८ वटा परियोजना पेश भएकोमा तीन वटा छनोट भएका छन्। तीनै परियोजना नेपालका छन् भने १२ लाख अमेरिकी डलर बजेट छ।
एएफयूसँगै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को ‘मिटिगेशन सोइल ब्रोन डिजिज टु इम्प्रुभ स्मल होल्डर्स फार्मर लाइभलिहुड एन्ड फूड सेक्युरिटी इन नेपाल’ र फरर्वाड नेपालको ‘इम्पावरिङ इन्टरप्रेनर्स थ्रू एप्रोप्रियट हर्टिकल्चर इनोभेसन इन नेपाल (युवा)’ परियोजना रहेको फीड द फ्युचर इनोभेसन ल्याब फर हर्टिकल्चरका दक्षिणएशियाका रिजनल हब म्यानेजर कृष्ण सापकोटाले जानकारी दिए।