प्राङ्गारिक मल उत्पादन गरेर वर्ष दिनमै ६ करोडको कारोबार
चामल उत्पादनको पुर्ख्यौली उद्यम छोडेर प्राङ्गारिक मल कारखाना खोलेका वीरगन्जका तारा प्रसादले वर्ष दिनमै ६ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन् भने कृषक पनि सन्तुष्ट छन्।
प्रख्यात ‘रूख’ ब्रान्डको चामलको माग बजारमा उच्च नै छ। वीरगन्ज लगायत आसपासका क्षेत्रमा होइन, पूर्वी तराईदेखि पश्चिमसम्म माग छ। तर, तारा प्रसादले पुस्तैनी उद्यम चटक्क छोडे।
तारा तिनै उद्यमी परिवारका सदस्य हुन्, जसले वीरगन्जमा ओम खाद्य उद्योग र न्यू ओम खाद्य उद्योग सञ्चालन गरिरहेको छ। ताराका बुबा रामअयोध्या प्रसाद बाराको विश्रामपुरमा चिउरा मिल र पम्प सेटबाट चल्ने धान मिल चलाउँथे। रामका ६ छोराले त्यसलाई आधुनिकीकरण गरे।
उनीहरूले ओम खाद्य उद्योग र न्यू ओम खाद्य उद्योग चलाइरहेका छन्। जस अन्तर्गतको ‘रूख’ ब्रान्डको चामल उपभोक्ताले रुचाउने गरेका छन्। कान्छा ताराले भने पुस्तैनी उद्यम छोडेर प्राङ्गारिक मल कारखाना खोले। २०७२ सालमा एक बिघा आफ्नै जग्गा थियो, थप तीन बिघा जमीन भाडामा लिए। चार बिघामा खुलेको काराखानामा तीन जना कर्मचारी राखे।
उनले प्राङ्गारिक मलको नाम राखे- रूख। “पहिला चामलमा रूख ब्रान्ड सफल थियो,” तारा भन्छन्, “रूख हरियो हुन्छ, छहारी दिन्छ, वातावरणका लागि पनि राम्रो हुन्छ भनेर प्राङ्गारिक मलको ब्रान्ड पनि रूख नै राखेको हुँ।”
जुन उत्साहले कारखाना खोलेका थिए, शुरूआतमा त्यस विपरीतका प्रतिक्रिया आए। धेरैले ‘बाटो बिगारिस्’ भन्ने गरेको उनी सुनाउँछन्। “प्राङ्गारिक मल उत्पादन गरेर बिक्री गर्न थालेपछि भने सबैको मुख बन्द भयो,” उनी सम्झिन्छन्।
किसानले भोगिरहेको मलको अभाव थोरै भए पनि कम गर्न र रासायनिक मलले माटोमा पारिरहेको असर हटाउन प्राङ्गारिक मल कारखाना खोलेको उनी बताउँछन्। “मलको हाहाकार हुँदा बजारमा नक्कली मल देखियो। खेतीमा रासायनिक मल र विषादीको बढ्दो प्रयोगले माटोको उर्वराशक्ति र मानिसको स्वास्थ्यमा समेत असर पारिरहेको छ,” उनी भन्छन्, “किसानका लागि केही गरौं भन्ने भावनाले प्राङ्गारिक मल उत्पादन गर्न थालेको हुँ।”
उनको क्याप्टन फार्मले बर्मी कम्पोस्ट र कम्पोस्ट मल उत्पादन गर्छ। मलमा नाइट्रोजन, फोस्फरस, आइरन र पोटास लगायत माटोका लागि आवश्यक तत्त्वको मात्रा मिलाइएको हुन्छ। यो मलले माटोको उर्वराशक्ति बढाउन, माटाको अम्लीयपनमा सुधार ल्याउन मद्दत गर्नुका साथै उत्पादन पनि बढ्ने ताराको भनाइ छ। “रासायनिक मल र विषादीको प्रयोगले क्यान्सर, मधुमेह, रक्तचाप जस्ता दीर्घरोग बढेको अनुसन्धानहरूले देखाएका छन्,” तारा भन्छन्, “दीर्घरोगबाट जोगिन जैविक मल प्रयोग गरेर प्राङ्गारिक खेतीमा जानुको विकल्प छैन।”
किसानलाई बुझाउनै कठिन
पुस्तैनी व्यवसायले लय लिइरहेकै थियो। उपभोक्ताले रूख ब्रान्डको चामल मन पराइरहेका थिए। तर, रूख ब्रान्डको प्राङ्गारिक मललाई भने शुरूआतमा किसानले विश्वास गरेनन्। उनीहरूलाई बुझाउनै मुश्किल भएको उनी सुनाउँछन्।
त्यसपछि उनले उधारोमै बिक्री गर्न शुरू गरे। “धेरैले ठगिसकेका छन्, तपाईं पनि ठग्न आउनुभएको हो। यो मल चाहिंदैन भनेर किसानले फर्काउँथे,” तारा सम्झन्छन्, “किसानलाई निःशुल्क वितरण गरेका थियौं। प्रयोग गरेर हेर्नुस्, राम्रो भयो भने मात्रै पैसा दिनुहोला भनेर उधारोमै दियौं।”
२०७४ सालमा स्थानीय तहको निर्वाचनसँगै जनप्रतिनिधि आएपछि भने नयाँ रणनीति अपनाए। पर्सा र बाराका स्थानीय सरकारका प्रमुखलाई प्राङ्गारिक मलको महत्त्व बुझाए। किसानलाई वितरण गर्न आग्रह गरे। कतिपय स्थानीय सरकारले पाँच–दश लाखको मल किनेर किसानलाई शतप्रतिशत वा आंशिक अनुदानमा वितरण गरे।
कतिपय स्थानीय सरकार प्रमुख तथा उपप्रमुख र वडाध्यक्षलाई प्राङ्गारिक मलका लागि बजेट छुट्याउन आग्रह गरे। तर कमैले माने। धेरैले त ‘प्राङ्गारिक मलले केही हुँदैन, बजेट छैन’ भनेर टारे पनि। ताराले हिम्मत हारेनन्, आफ्नो काम जारी राखे।
अहिले भने अवस्था फेरिएको छ। क्याप्टन फार्मको प्राङ्गारिक मल बारा, पर्सा, रौतहट, मकवानपुर, सप्तरीसँगै पोखरा र धनगढी पनि पुगिसकेको छ। “सबै ठाउँबाट माग आइरहेको छ,” तारा भन्छन्, “कर्मचारी पनि बढेका छन्, तीनबाट १५ जना पुगेका छन्।”
गत वर्ष ६ करोड रुपैयाँको मल बिक्री भयो। यस वर्ष १० करोडको बिक्री गर्ने लक्ष्य राखेका छन्। कारखानामा २५ करोड जतिको लगानी भएको छ। समय समयमा कृषि वैज्ञानिकले आएर आवश्यक सल्लाह-सुझाव दिने गरेको उनी सुनाउँछन्।
रूख ब्रान्डको मल प्रतिकिलो ३० रुपैयाँमा पर्छ। २५ किलो अटाउने बोरामा प्याकिङ गर्दा ७५० रुपैयाँमा बिक्री हुन्छ।
गाईभैंसीको गोबर, जलकुम्भी, हरियो घाँसपात मिलाएर दुई फिटसम्म भरिन्छ। त्यसमा गँड्यौला छोडेर मल तयार गरिन्छ। मल तयार हुन ४५ देखि ६० दिन लाग्छ। यसरी तयार गरिएको मललाई माटोमा मिसाएर रोप्दा राम्रो उत्पादन हुने उनको भनाइ छ।
उनका अनुसार एक कट्ठाका लागि एक बोरा मल भए पुग्छ। बाली अनुसार मात्रा थपघट गर्न सकिन्छ। यो मल प्रयोग गर्दा ३० देखि ४० प्रतिशतले कृषि उत्पादन बढेको पाइएको उनी बताउँछन्।
फार्मलाई हैन, किसानलाई अनुदान
तारालाई सरकारी अनुदानप्रति मोह छैन। शुरूआतमा त उनले पनि अनुदान लिएका थिए। तर फार्मलाई भन्दा किसानलाई अनुदान दिंदा फाइदा हुने उनको अनुभव छ। “एक पटक पूर्वाधार बनाउन सहयोग लिएको थिएँ। फेरि पनि प्रस्ताव लिएर आउनुस् भनेका थिए तर मैले पूर्वाधार कति बनाउने?” उनी सुनाउँछन्, “मलाई अनुदान दिने पैसाले प्राङ्गारिक मल किनेर किसानलाई दिनुस्, पूर्वाधारका लागि मलाई अनुदान चाहिंदैन भनेर सम्झाएँ।”
स्थानीय सरकारले किसानलाई जैविक मल प्रयोग गरेर प्राङ्गारिक खेतीका लागि प्रोत्साहित गर्नुपर्नेमा उनी जोड दिन्छन्। तीनै तहका सरकारले प्राङ्गारिक मलको महत्त्व बुझाउन नसक्दा किसानले रासायनिक मल प्रयोग गरिरहेको उनी बताउँछन्।
“प्राङ्गारिक मल प्रयोग गर्दा प्रतिफल ढिलो आउँछ भन्ने भ्रम छ तर त्यसो होइन,” उनी भन्छन्, “किसानले अहिलेसम्म राम्रो प्राङ्गारिक मल पाएकै छैनन्। गुणस्तरीय मल प्रयोग गर्नुस्, नतीजा एकै बालीमा देखिन्छ।”
गैरकानूनी रूपमा भारतबाट कम गुणस्तरको प्राङ्गारिक मल आउँदा किसान र स्वदेशी उत्पादक दुवै मर्कामा परेको तारा सुनाउँछन्। कम गुणस्तरको मल भित्रिंदा एकातिर किसान ठगिने र अर्कातिर स्वदेशी उद्यमी मर्कामा पर्ने उनको भनाइ छ। उनी भन्छन्, “भारतबाट अवैध रूपमा कम गुणस्तरको मल आउँदा एकातिर राज्यलाई घाटा हुन्छ भने अर्कातिर बजारमा प्राङ्गारिक मलप्रतिको विश्वास पनि घटाउँछ।”