सिक्किममा आएको बाढीमा २३ सैनिक सम्पर्कविहीन
भारतको उत्तरपूर्वी सिक्किम राज्यमा भीषण वर्षाका कारण आएको बाढीमा २३ सैनिक सम्पर्कविहीन छन्।
टिस्टा नदीमा आएको बाढीमा सैनिक सम्पर्कविहीन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। “उत्तर सिक्किमको ल्होनाक तालमा अप्रत्याशित रूपमा बादल फाट्दा टिस्टा नदीमा बाढी आयो, २३ सैनिक सम्पर्कविहीन भएको र केही सवारीसाधन डुबेको खबर छ,” भारतीय प्रहरीले भनेको छ।
यो क्षेत्र नेपालको सीमा नजिक पर्छ। साथै ल्होनाक ताल विश्वको तेस्रो सबैभन्दा अग्लो हिमाल कञ्चनजंघालाई घेरेको हिउँको चुचुरोमा रहेको हिमनदीको फेदमा अवस्थित छ।
चुङथाङ बाँधभन्दा माथि पानी छोडिएका कारण पानीको सतह सामान्य अवस्थाभन्दा १५ फिट माथि रहेको सेनाले बताएको छ। भारतीय सेनाका प्रवक्ताले जारी गरेको एउटा भिडिओमा जङ्गली क्षेत्रमा पानीको तीव्र धारले सडकहरू बगाएको र बिजुलीका तारहरू चुँडाएको देखिएको छ।
सामान्यतया भारतमा जूनदेखि शुरू भएर सेप्टेम्बरमा सकिने मनसुनको समयमा अचानक बाढी आउनु सामान्य हो।