कक्षाकोठाको अभावमा गोरखा जिल्लाको केन्द्र गोरखा बजारमा रहेको शक्ति माध्यमिक विद्यालयले पठनपाठनमा समस्या झेलिरहेको छ।
यस वर्ष कक्षा ११ मा भर्ना भएका ३०० विद्यार्थीलाई पढाउन कक्षाकोठा अपुग हुँदा समस्या भइरहेको विद्यालयका प्रधानाध्यापक बद्री अर्यालले बताए।
गोरखाबजारको बिसौनीमा रहेको एक हजार विद्यार्थी क्षमताको यस विद्यालयको पूर्व, दक्षिण र पश्चिमपट्टि तीन वटा पक्की संरचना छन्। उत्तरतर्फ एउटा अस्थायी टहरामा विगतमा विपद्का वेला कक्षा सञ्चालन गरिएको थियो। हाल सो स्थानमा भण्डारण र क्यान्टिन चलाइएको छ।
विद्यालय परिसरको पश्चिम-उत्तरमा साविकको माध्यमिक शिक्षा एकाइ (सेडु)ले सञ्चालन गर्ने तालीम केन्द्रको भवन छ। यो प्रयोगमा आएको छैन। यस भवनमा कक्षाकोठा सञ्चालन गर्न पाए समस्या समाधान हुने प्रधानाध्यापक अर्याल बताउँछन्।
“विद्यालय परिसरको पश्चिम-उत्तरमा साविकको माध्यमिक शिक्षा एकाइले सञ्चालन गर्ने तालीम केन्द्रको भवन त्यसै छ,” अर्याल भन्छन्, “सो भवनमा कक्षाकोठा चलाउनुपर्यो भनेर नगरपालिका र तालीम केन्द्रको कार्यालय दमौलीमा ताकेता गरेकोगर्यै छौं तर हाम्रो समस्या कसैले सुनेको छैन।”
आफूहरूलाई कक्षाकोठाको अभाव भएको र कक्षा चलाउन भवन दिनु भन्दा कसैले नसुनेको अर्यालको गुनासो छ। “संघीयता लागू हुनुअघि सेडु अन्तर्गतको यस तालीम केन्द्रमा तालीम सञ्चालन हुन्थ्यो। संघीयतापछि समायोजन हुँदा तालीम केन्द्र दमौली सर्यो। यहाँको भवनमा माकुराले जालो लगाएको छ,” उनी भन्छन्।
तालीम केन्द्रले सो भवनको भोगाधिकार विद्यालयलाई नदिएको विद्यालय प्रशासनको भनाइ छ। भवन उपयोगका लागि विद्यालयले गोरखा नगरपालिकाको शिक्षा शाखा मार्फत पहल गरिरहेको छ।
नगरपालिकाले भने सो भवनको भोगाधिकारको विद्यालयलाई नै भएको हुँदा तालीम केन्द्रले अवरोध गर्न नमिल्ने धारणा राखेको छ। नगरपालिकाका शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्काले संघीयता लागू हुनुअघि सेडुले सञ्चालन गरेको सो भवन सेडुले छोडेपछि विद्यालयको भोगाधिकारमा रहने लिखतकै आधारमा तालीम केन्द्र बनेको बताउँछन्। हाल तालीम केन्द्र दमौली सरिसकेको अवस्थामा सो भवन विद्यालयकै हुने उनको भनाइ छ।
“तर तालीम केन्द्रका सरहरू आएर विद्यालयलाई भवन उपयोग नगर्नू भन्ने निर्देशन दिनुभएको रहेछ। तालीम केन्द्रका सरसामान सबै लगिसकिएको छ,” खड्का भन्छन्, “अहिले तालीम नचलेको र तालीम केन्द्र नै सरिसकेको अवस्थामा भवन त्यसै राख्नुभन्दा उपयोग गर्नु नै जाती हुने थियो।”
यसबारे विद्यालयले प्रदेश मन्त्रालयमै पनि गुनासो पुर्याएको छ। शिक्षा शाखा प्रमुख खड्काका अनुसार भने यो मन्त्रालयमा जानुपर्ने विषय नै होइन। यसमा विद्यालयकै हक लाग्छ। शक्ति माध्यमिक विद्यालयका लागि कक्षा ११ र १२ पढाउन रहेको कक्षाकोठाको अभाव चाँडै हटाउने उनले बताउँछन्।
गोरखामा विद्यार्थीको चाप हुने विद्यालयमा शक्ति मावि पनि पर्छ। “पोहोर ११ मा ३१९ जना भर्ना भएका थिए। विद्यार्थीहरू अझै भर्ना हुन आइरहेका छन् तर हामी ३०० भन्दा बढीलाई भर्ना लिन सक्दैनौं,” अर्याल हिमालखबरसँग भन्छन्, “अन्य विद्यालय जहाँ कम विद्यार्थी छन्, त्यहाँ २२/२४ जना शिक्षकको दरबन्दी छ। तर हाम्रोमा जम्मा २० दरबन्दीले काम चलाउनुपरेको छ।”