एशियाली खेलकुद : महिला कबड्डीमा नेपालले पदक पाउन सक्ने
१९औं एशियाली खेलकूद, २०२२ अन्तर्गत नेपालले महिला कबड्डीतर्फ पदक पाउन सक्ने सम्भावना छ।
महिला कबड्डीतर्फ आज हुने इरान र बाङ्लादेशबीचको खेलबाट नेपालले पदक पाउने/नपाउने टुङ्गो लाग्नेछ। उक्त खेल इरानले जितेमा नेपालले कांस्य पदक पाउने निश्चित हुनेछ। सो खेल बाङ्लादेशले जितेमा भने नेपाल महिला कबड्डीमा पनि पदकविहीन बन्न सक्छ।
नेपाल समूह ‘बी’ मा छ। यही समूहमा इरान र बाङ्लादेश समेत छन्। हालसम्म नेपाल र इरानले एक-एक खेल जितेका छन्। नेपालले पहिलो खेलमा बाङ्लादेशलाई पराजित गरेको थियो भने दोस्रो खेलमा चाहिं इरानसँग पराजित भएको थियो।
महिला कबड्डीमा इरान बलियो टोली मानिन्छ। इरानले यसअघि सम्पन्न १८औं एशियाली खेलकूदमा महिला कबड्डीको स्वर्ण पदक जितेको थियो।
एशियाली खेलकूदमा सहभागी कुल ४५ मुलुकमध्ये हालसम्म ३६ मुलुकले पदक प्राप्त गरेका छन्। नेपाल भने हालसम्म पदकविहीन छ। -रासस