भूकम्पमा परी पाँच जना घाइते, विभिन्न जिल्लाका भौतिक संरचनामा क्षति
बझाङ केन्द्रबिन्दु भएर आज दिउँसो गएको भूकम्पका कारण घर तथा संरचना भत्कँदा हालसम्म पाँच जना घाइते भएका छन्।
बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको जानकारी दिए। उनले अहिलेसम्म मानवीय क्षति भएको जानकारी नआएको बताए।
पाण्डेका अनुसार भूकम्पले पुर्याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ भने घाइतेहरूको अवस्था समान्य छ। उनले भने, “बझाङ सदरमुकाम र आसपासमा केही घर चर्किएको र अन्य कतिपय घर भत्किएको जानकारी आएको छ, विस्तृत विवरण आउन बाँकी छ।
सदरमुकाम चैनपुरमा मोबाइल ग्यालरीको पसल सञ्चालनमा रहेको एकघर, निर्वाचन कार्यालयको भवन सहित कतिपय सरकारी तथा व्यक्तिगत घर चर्किएका छन्। बझाङको मष्टा गाउँपालिका १ नम्बर वडा कार्यालय भवन भत्किएको छ।
भूकम्पको झटका महसूस भएपछि बझाङ जिल्ला अस्पताल भवनको बाहिर राखेर बिरामीलाई उपचार सेवा दिइएको थियो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बैतडीमा विद्यालयबाट घरतर्फ गइरहेका एक व्यक्तिमाथि ढुङ्गा खसेको र वन क्षेत्रमा घाँस काटिरहेको अवस्थामा गएको पहिरोका कारण अर्का एक व्यक्ति घाइते भएको जानकारी दिए।
प्रहरी नायब महानिरीक्षक बोहराले अछामको एक वडा कार्यालयको भवन भत्किएको जानकारी आएको बताए। डोटीमा पनि केही घर चर्किएका छन्।
सुर्खेतस्थित भूकम्प मापन केन्द्रका अनुसार आज दिउँसो २ बजेर ४० मिनेटमा तलकोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केल तथा ३ बजेर ६ मिनेटमा चैनपुर केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको अर्को भूकम्प गएको थियो। -रासस