नेपालगन्जमा अनिश्चितकालीन कर्फ्यू
बाँकेको नेपालगन्जमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ।
आज बिहान नेपालगन्जमा भएको विरोध प्रदर्शनले उग्र रूप लिएपछि अनिश्चितकालीन कर्फ्यू जारी भएको हो।
सार्वजनिक सम्पत्ति तोडफोड, ढुङ्गामुढा प्रहार, उच्छृंखल गतिविधिका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भङ्ग हुन सक्ने स्थिति देखिएकोले कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।
नेपालगन्ज नगर क्षेत्र पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाका किल्लाभित्र भेला हुन, सभासमारोह गर्न, जुलूस र्याली गर्न, हुलहुज्जत गर्न र हिंडडुल गर्न समेत नपाइने गरी कर्फ्यू जारी भएको छ।
कर्फ्यू आदेश उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले आवश्कता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारबाही गर्न सक्ने प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जनाएका छन्।
आजै बिहान मात्र धार्मिक तथा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले बृहत सद्भाव र्याली निकालेर नेपालगन्ज नगर परिक्रमा गरिएको थियो।