नेपाल ‘फ्युचर पोलिसी अवार्ड’ बाट सम्मानित
मर्करीमुक्त स्वास्थ्य र मर्करीमुक्त दन्त चिकित्सा सम्बन्धी नीति तर्जुमा गरे बापत नेपाल ‘फ्युचर पोलिसी अवार्ड २०२३’ बाट सम्मानित भएको छ।
नेपाललाई डेन्टल अमल्गम विधा अन्तर्गत मर्करीमा आधारित उपकरण र डेन्टल अमल्गमको प्रतिबन्ध लगाउने नीतिका लागि यो पुस्कार प्रदान गरिएको हो। १५ वर्षमुनिका बालबालिका, गर्भवती र स्तनपान गराउने महिलामा मर्करीमा आधारित उपकरणहरू र डेन्टल अमल्गमको प्रयोगमा तत्काल प्रतिबन्ध लगाउने र पाँच वर्षभित्र अन्य सबै उमेर समूहका मानिसमा पनि डेन्टल अमल्गम प्रयोगमा पूर्णतया प्रतिबन्ध लगाइने लक्ष्य राखेको यो एशियाकै पहिलो नीति हो।
नेपालमा मर्करीमुक्त स्वास्थ्य सेवा र मर्करीमुक्त दन्त चिकित्सा सम्बन्धी नीति २०७६ भदौ ४ गते मन्त्रीस्तरीय निर्णयले पारित गरेको थियो।
यस्तै, यस वर्ष खेलौना सम्बन्धी नीतिमा भियतनाम, कस्मेटिक सम्बन्धी नीतिमा रुवान्डा र प्याकेजिङ वस्तु सम्बन्धी नीतिका लागि डेनमार्कलाई पनि पुरस्कृत गरिएको छ।
जर्मनीको बोन शहरमा हालै सम्पन्न केमिकल व्यवस्थापन सम्बन्धी पाँचौं अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले सो पुरस्कार ग्रहण गरेका थिए। सम्मेलनमा नेपालले वैकल्पिक मर्करीमुक्त डेन्टल फिलिङको प्रयोग अपनाएर मर्करी प्रदूषणको जोखिमलाई उल्लेखनीय रूपमा कम गरेकामा प्रशंसा गरिएको थियो।
सो नीतिपछि मर्करीमा आधारित उपकरणहरू र डेन्टल अमल्गमको प्रतिबन्ध लगाउने प्रयासहरू डिजिटल थर्मोमिटर, डिजिटल वा एनरोइड स्फिग्मोमानोमिटर र मर्करीमुक्त दन्त फिलिङहरू जस्तैः जीआईसी, कम्पोमर र कम्पोजिट फिलिङ जस्ता सुरक्षित विकल्पहरू प्रयोग भइरहेको जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (सीफेड) का कार्यकारी निर्देशक रामचरित्र साहले बताए।
मर्करीले बालबालिका, गर्भवती र स्तनपान गराउने महिलामा धेरै नकारात्मक प्रभाव पार्दछ। डेन्टल अमल्गम तयार गर्न अन्य धातुको मिश्रणमा मर्करी मिसाइएको छ। -रासस