सिन्धुलीगढीमा २५६औं विजयोत्सव सम्पदा यात्रा
सिन्धुलीगढीमा गोर्खाली फौजले तत्कालीन अंग्रेज फौजलाई परास्त गरेको दिनको सम्झनामा सम्पदा यात्रा गरिएको छ।
ढुंग्रेभन्ज्याङबाट शुरू भएको सम्पदा यात्राले पौवागढी, सिन्धुलीगढी, टुँडिखेल, रानी दरबार हुँदै पाँच किलोमिटर दूरी तय गरेको थियो।
१८२४ असोज ९ गते सिन्धुलीमाडी कब्जा गरेको किनलक नेतृत्वको अंग्रेज फौज गढीतिर उक्लिने क्रममा गोर्खाली फौजले पौवागढीमा प्रत्याक्रमण गरेको थियो। वंशु गुरुङ नेतृत्वको फौजले अंग्रेज फौजलाई सिन्धुलीगढीबाट भगाएको थियो।
सिन्धुलीगढीमा सदरमुकाम रहँदादेखिका जानकार दिलीप थापाले सम्पदा यात्राको नेतृत्व गरेका थिए। यात्राका क्रममा उनले युद्ध भएका र अंग्रेज सेना पुगेका ठाउँ देखाउँदै लगेका थिए। जुन ठाउँमा अहिले बिपी राजमार्ग छ। हाल राजमार्गको छेउमा रहेको पौवागढीभन्दा माथि अंग्रेज सेना प्रवेश गर्न सकेको थिएन।
सिन्धुलीगढी महत्त्वपूर्ण नाका र केन्द्रका रूपमा लामो समयसम्म रहेको थियो। २०१९ सालसम्म जिल्लाका सम्पूर्ण सरकारी कार्यालय सिन्धुलीगढी क्षेत्रमै थिए। २०२२ सालमा सिन्धुलीगढी दरबारमा सेनाको ब्यारेक, प्रहरी चौकी र कारागार मात्र छाडेर सबै कार्यालय सिन्धुलीमाढीमा सारिएको थियो। २०२९ सालमा कारागार पनि सिन्धुलीमाढीमा सारियो।
सम्पदा यात्राका आधारमा तयार पारिएको नक्शा डिजिटाइज गरिने जनाइएको छ।
सिन्धुलीगढीको ऐतिहासिकताबारे लोकगायक कृष्णविक्रम थापाले ‘सिन्धुलीगढी घुमेर हेर्दा' गीत गाएका थिए। २०३७ सालमा पहिलाे पटक रेडियो नेपालमा बजेकाे याे गीत अहिलेसम्म पनि सिन्धुलीगढीको चिनारी बनेको छ। लोकगायक थापाकाे शालिक तयार भएकाे एक वर्षभन्दा बढी भइसके पनि अनावरण हुन सकेकाे छैन।
सिन्धुलीगढीको संरक्षण गर्ने जिम्मेवारी लिएको कमलामाई नगरपालिकाले गलत मितिमा विजयोत्सव मनाउने गरेको भन्दै इतिहासविद्हरूले उसले इतिहास बङ्ग्याएको बताउँदै आएका छन्। इतिहासकारहरूसँगको छलफलपछि समृद्ध सिन्धुली अभियानले अंग्रेजलाई परास्त गरेको दिन असोज १५ प्रमाणित भएकाले सोही दिन विजयोत्सव मनाउन थालेको हो।
२०७४ सालदेखि असोज १५ लाई नै विजयोत्सव मनाउन थालिएको समृद्ध सिन्धुली अभियानका अभियन्ता भुवन थापा बताउँछन्। उनले समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम गर्दै आएको पनि जानकारी दिए। अभियानले गत वर्ष सिन्धुलीगढी चित्रकथाको अंग्रेजी र नेपाली संस्करण सार्वजनिक गरेको थियो भने सिन्धुलीगढीको प्रवर्द्धन गर्न पर्यटन बोर्डसँग मिलेर काठमाडौं लगायत देशका विभिन्न स्थानमा ‘फोटो सिन्धुली’ तस्वीर प्रदर्शनी आयोजना गरेको छ।
अभियानले सिन्धुलीका दुई वटा ऐतिहासिक गढी हरिहरपुरगढी र सिन्धुलीगढी जोड्ने पदमार्ग निर्माणको पनि थालनी गरेको थियो। जस अन्तर्गत पहिलो खण्ड हरिहरपुरगढीको घन्टेदेखि मरिण गाउँपालिकाको सिमाना सेपाहासम्म पदमार्ग निर्माण सम्पन्न भएको छ।