नेपालगन्जमा सद्भाव र्याली
धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न बाँकेको नेपालगन्जमा आज बृहत् सद्भाव र्याली निकालिएको छ।
नेपालगन्ज नगर परिक्रमा गर्दै र्यालीमा सहभागी राजनीतिक दलका नेता तथा धर्मगुरुहरूले सामाजिक सद्भाव बलियो बनाउन सन्देश प्रवाह गरेका छन्। र्याली नेपालगन्जको बीपी चोकबाट निकालिएको थियो।
जिल्ला प्रशासन कार्यालय, बाँकेमा सोमबार बसेको राजनीतिक दल, धर्मगुरु, नागरिक समाजका अगुवा लगायतको बैठकले सद्भाव र्याली निकाल्ने निर्णय गरेको थियो। मुस्लिम धर्मावलम्बीको आस्थामा ठेस पुर्याउने गरी फेसबूकमा कमेन्ट गरिएको कुरालाई लिएर असोज १४ गते नेपालगन्जका मुस्लिम समुदायका युवाले जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए। उनीहरूले सम्बन्धित व्यक्तिलाई कारबाहीको माग पनि गरेका थिए।
त्यसपछि ॐकार परिवार नेपालगन्ज हिन्दू समाजले असोज १६ गते नेपालगन्ज बन्दको घोषणा गरेको थियो। त्यसले विवाद निम्तिने देखेपछि स्थानीय प्रशासनले सद्भावका लागि पहल गरेको हो।
र्यालीमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, नेपालगन्ज नगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दीन राई, बागेश्वरी मन्दिरका मूल महन्त तथा अन्तरधार्मिक सञ्जालका संयोजक चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु अब्दुल जब्बार मन्जरी, मौलाना मन्सूर लगायतको सहभागिता थियो।