नेपाल क्वार्टरफाइनलमा भारतसँग पराजित
एशियाली खेलकूद प्रतियोगिता अन्तर्गत टी-२० क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ।
चीनको हाङजाउमा मंगलबार भएको खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको हो। भारतले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले नौ विकेटको क्षतिमा १७९ रन बनाएको हो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२, कुशल मल्ल र सन्दीप जोराले २९-२९, कुशल भुर्तेलले २८, करण केसीले १८ र आशिफ शेखले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
भारतका लागि रवि विश्नोई र अभेष खानले तीन-तीन विकेट लिए। अर्शदीप सिंहले दुई र साई किशोरले एक विकेट लिए।
यसअघि भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो। भारतका लागि यशस्वी जैसवालले शतक बनाएका थिए। त्यस्तै, रिंकु सिंहले ३७, शिभम दुवेले २५, रुतुराज गायकवाड २५, जितेश शर्माले पाँच र तिलक बर्माले दुई रन बनाए।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई, सोमपाल कामी र सन्दीप लामिछानेले एक-एक विकेट लिए।
यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ भने भारत सेमिफाइनलमा प्रवेश गरेको छ।