नेपालगञ्जमा मंगलबार सद्भाव र्याली निकालिने
धार्मिक सद्भाव कायम राख्न नेपालगञ्जमा मंगलबार सबैको सहभागितामा सद्भाव र्याली निकालिने भएको छ।
जिल्ला प्रशासन कार्यालय, बाँकेमा सोमबार बसेको राजनीतिक दल, धर्मगुरू, नागरिक समाजका अगुवा लगायतको बैठकले सद्भाव र्याली निकाल्ने निर्णय गरेको हो। असोज १६ गते मंगलबार बिहान साढे ७ बजे नेपालगञ्जको बीपी चौकबाट सद्भाव र्याली निकानिेछ। सद्भाव र्यालीमा सबै राजनीतिक दल, धर्म, समुदाय, नागरिक समाजका अगुवा सहभागी हुने भएका छन्।
फेसबुकमा गरिएको कमेन्टलाई लिएर असोज १४ गते नेपालगञ्जका मुस्लिम समुदायका युवाले जिल्ला प्रशासन कार्यालय, अगाडि विरोध जनाएका थिए। मुस्लिम धर्मावलम्बीको आस्थामाथी ठेस पुर्याउने गरी फेसबूकमा स्टाटस् लेखिएको भन्दै कारबाहीको माग गरेका थिए।
त्यसपछि ॐकार परिवार नेपालगञ्ज हिन्दू समाजले असोज १६ गते नेपालगञ्ज बन्दको घोषणा गरेको थियो। त्यसले विवाद निम्तिने देखेपछि स्थानीय प्रशासनले सद्भावका लागि पहल गरेको हो।
विवाद बढ्न नदिने सोमबार जिल्ला प्रशासन कार्यालयमा सद्भाव समिति र सुरक्षा समितिको बैठक बसेको हो। बैठकमा नेपालगञ्जका मेयर प्रसान्त विष्ट, उपमेयर कमरुद्दीन राई, अन्तरधार्मिक सञ्जालका संयोजक चन्द्र नाथ योगी, मौलाना अब्दुल जब्बार मन्जरी, धार्मिक सद्भाव समितिका संयोजकहरू दिपक लोध र गुलाम हुसेन हल्वाइ, नेपाली कांग्रेसका सभापति नारायण गौडेल, नेकपा (एमाले) का सभापति किस्मत कुमार कक्षपति, राप्रपाका अध्यक्ष नरेन्द्र पौडेल, राप्रपा नेपालका दिपेन्द्र सिंह, जनमत पार्टीका इन्चार्ज तेजनारायण कडेलसहित सुरक्षा निकायका प्रमुख र नागरिक समाजका अगुवा सहभागी थिए।
बैठकले कुनै पनि व्यक्ति, संघ संस्था वा सम्प्रदायले कसैको धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने वा कुनै धर्मको विरुद्ध हुने गरी कुनै पनि सामाजिक सञ्जालमा फोटो, लेख, रचना वा अन्य कुनै पनि किसिमको संकेत नगर्न तथा जातीय, धार्मिक सद्भावमा खलल पुर्याउने कानून विपरीतका कुनै पनि गतिविधि नगर्न नगराउन अनुरोध गरेको छ। कसैले कानून विपरीतका गतिविधि गरेमा कारबाही गरिने जनाएको छ।