विमानस्थलको जग्गा आफ्नो नाममा गर्नेलाई मुआब्जा नदिने निर्णय
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग सहितको जग्गा आफ्नो नाममा गरेका पर्वतराजकान्त मिश्रलाई मुआब्जा नदिने निर्णय भएको छ।
जिल्ला मुआब्जा निर्धारण समिति, रुपन्देहीको सोमबार बसेको बैठकले जग्गा दर्ता प्रक्रिया शङ्कास्पद देखिएको जनाउँदै मुआब्जा नदिने निर्णय गरेको हो। हदम्यादका कारण मन्दिरलाई दिइएको जमीन व्यक्तिको नाममा गरिदिएको मालपोत कार्यालय, भैरहवाको निर्णय विवादरहित नदेखिएको हुँदा मुआब्जा नदिने निर्णय भएको मुआब्जा निर्धारण समितिका संयोजक एवं रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले मालपोत कार्यालयको निर्णय प्रक्रियाप्रति विश्वस्त हुन नसकिने निर्णय गरेको छ। निर्णयमा भनिएको छ, ‘मालपोत कार्यालय भैरहवाले जग्गा दर्ताका क्रममा लिएका आधार, निर्णयको प्रक्रिया, अधिकार क्षेत्रको प्रयोग लगायत फाइलमा संलग्न कागजातहरू र निर्णयको व्यहोरा अध्ययन गरी उक्त जग्गा दर्ता प्रक्रिया विवादरहित रहेको भनी विश्वस्त हुन सकिएन।’
त्यस्तै, बैठकले मुआब्जा तथा क्षतिपूर्ति माग गरी पेश भएको निवेदनमा उल्लिखित भुजौली ९ (ख) कित्ता नं. ७, ३२, ६७ ६८, ९२ र ९४ जमीनको मुआब्जा दिन नसकिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए। समितिले ‘पछि कानून बमोजिम जग्गा दर्ता प्रक्रियासँग सम्बन्धित विवाद निरुपण भएपश्चात् तदनुरूप हुने नै हुँदा हाललाई निवेदक पर्वतराजकान्त मिश्रको माग अनुरूपको मुआब्जा उपलब्ध गराउन नसकिने’ निर्णय गरेको हो।
हदबन्दीका कारण मन्दिरलाई दिएको विमानस्थलभित्रको चार बिघा १७ कट्ठा ६ धुर जमीन २०८० वैशाख ८ मा जिल्ला मालपोत कार्यालय, भैरहवाले मिश्रको नाममा दर्ता गरेको थियो। त्यस लगत्तै उनले वैशाख ११ गते मुआब्जाका लागि विमानस्थल सुदृढीकरण कार्य आयोजना एकाइमा निवेदन दिएका थिए।
त्यस विषयमा निर्णय गर्न सोमबार अर्यालको अध्यक्षतामा बसेको बैठकमा मालपोत कार्यालयका अधिकृत ऋषिराम पौडेल, सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारी सहभागी थिए।
यो पनि पढ्नुहोस्: विमानस्थलको जग्गा आफ्नो नाममा हालेका पर्वतराजले २०६३ लिएका थिए नेपाली नागरिकता