नेपालसँग खेल्ने भारतीय टोलीमा आईपीएलका स्टार खेलाडी
एशियाली खेलकूद प्रतियोगिता अन्तर्गत नेपालसँग खेल्ने भारतीय क्रिकेट टोलीमा आईपीएलमा राम्रो प्रदर्शन गरिसकेका खेलाडी छन्।
चीनको हाङजाउमा सोमबार लिग चरणका खेल सकिएसँगै मंगलबारदेखि क्वार्टरफाइनलका खेल हुँदै छन्। क्वार्टरफाइनलको पहिलो खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ।
भारत सीधै क्वार्टरफाइनलमा पुगेको थियो भने नेपालले लिग चरणमा माल्दिभ्स र मंगोलियालाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। नेपालसँगै लिग चरणबाट हङकङ र मलेशिया पनि क्वार्टरफाइनलमा पुगेका छन्।
भारत जस्तै पाकिस्तान, श्रीलंका, बाङ्लादेश र अफगानिस्तान पनि सीधै क्वार्टरफाइनलमा पुगेका छन्। असोज १८ गतेदेखि भारतमा आईसीसी एकदिवसीय विश्वकप हुँदै छ। त्यसैले भारत, पाकिस्तान, श्रीलंका, बाङ्लादेश र अफगानिस्तानले एशियाली खेलकूदमा दोस्रो रोजाइका खेलाडीलाई पठाएका छन्। त्यसैले पाँचै देशका टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी समावेश छन्।
नेपालसँग प्रतिस्पर्धा गर्ने भारतीय टोलीको नेतृत्व रुतुराज गायकवाडले गरिरहेका छन्। उनले भारतीय राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्। आईपीएलमा चेन्नेई सुपरकिङ्सबाट खेलेका उनले तहल्का मच्चाएका थिए।
त्यस्तै, अर्का स्टार खेलाडी हुन् यशस्वी जैसवाल। भारतका तर्फबाट दुई वटा टेस्ट म्याच खेलिसकेका जैसवालको उच्च स्कोर १७१ रन छ। भारतका तर्फबाट अन्तर्राष्ट्रिय टी-२० मा राम्रो प्रदर्शन गरेका उनले वेस्ट इन्डिज विरुद्धको खेलमा ८४ रन बनाएका थिए। राजस्थान रोयल्सबाट आईपीएलमा विस्फोटक ब्याटरको छवि बनाएका उनको उच्च स्कोर १२४ रन छ।
रिंकु सिंह अर्का चर्चित खेलाडी हुन्। भारतको राष्ट्रिय टोलीबाट खेलिसकेका सिंहले भर्खरै सम्पन्न आईपीएलमा तहल्का मच्चाएका थिए। कोलकाता नाइट राइडर्सबाट खेलेका उनले लखनउ सुपर जेन्ट विरुद्ध ३३ बलमा ६७ रन प्रहार गरेर प्रशंसा बटुलेका थिए।
अर्का टपअर्डर ब्याटर राहुल त्रिपाठीले पनि भारतको राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। कोलकाता, राजस्थान, पुने र सनराइज हैदराबादबाट खेलिसकेका उनले १४३ खेलमा १८ वटा अर्धशतक प्रहार गरेका छन्। टी-२० मा उनको उच्च स्कोर ९३ रन छ।
विकेटकीपरका रूपमा खेलिरहेका प्रभसिमरन सिंह र जितेश शर्माले पनि आईपीएलमा राम्रो प्रदर्शन गरेका छन्। पन्जाबबाट खेल्दै आएका सिंहको उच्च स्कोर ११९ रन छ भने शर्माको उच्च स्कोर १०६ रन छ।
भारतीय टोलीमा रहेका शिवम् दुवे, शहबाज अहमद र तिलक बर्मा अलराउन्डर हुन्। तीनै जनाले भारतीय एकदिवसीय टोलीबाट पनि खेलिसकेका छन् भने आईपीएलमा राम्रो प्रदर्शन गरेका छन्। चेन्नेई, मुम्बई, राजस्थान र ब्याङ्लोरबाट खेलिसकेका दुवेको उच्च स्कोर ९५ रन छ।
यस्तै, रोयल च्यालेन्जर्स ब्याङ्लोरबाट खेल्दै आएका अहमदले ७२ खेलमा ७६१ रन बनाएका छन् भने ४७ विकेट लिएका छन्। मुम्बईबाट खेल्ने बर्माको उच्च स्कोर ८४ रन छ। उनले टी-२० मा ११ वटा अर्धशतक प्रहार गरिसकेका छन्।
भारतीय टोलीमा रहेका पाँचै जना बलरले राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। वाशिङ्टन सुन्दरले चार वटा टेस्ट म्याचमा ६ विकेट लिइसकेका छन्। एकदिवसीयमा १६ र अन्तर्राष्ट्रिय टी-२० मा २९ विकेट लिइसकेका उनले आईपीएलमा पनि राम्रो छाप छोडेका छन्।
अर्सदीप सिंह, अभेष खान, मुकेश कुमार र रवि विस्नोई भारतको राष्ट्रिय टोलीबाट एकदिवसीय प्रतियोगिता खेलिसकेका खेलाडी हुन्। उनीहरूले पनि आईपीएलमा राम्रो प्रदर्शन गर्दै आएका छन्।
एशिया कपमा भारत र पाकिस्तानको राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गरिसकेका नेपाली खेलाडीले पनि एशियाली खेलकूद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन्। मंगोलिया र माल्दिभ्ससँगको खेलमा कीर्तिमानी प्रदर्शनले नेपाली खेलाडीको मनोबल बढेको छ।
नेपाल र भारतको खेल नेपाली समय अनुसार मंगलबार बिहान ६ः४५ बजे शुरू हुनेछ।