‘सबैको दोष राष्ट्रपति संस्थामाथि थोपरेर गणतन्त्र नै ठीक छैन भन्न खोजिंदै छ’
राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेको व्यवस्था नै ठीक छैन भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै सचेत हुन आग्रह गरेका छन्।
संविधान दिवसका अवसरमा बाँकी कैद मिनाहा गरिएको विषयमा ध्यानाकर्षण गराउन शीतल निवास पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितको टोलीसँगको भेटमा राष्ट्रपति पौडेलले सचेत गराएका हुन्। संसदीय व्यवस्थाको मान्यता अनुसार मन्त्रिपरिषद्ले गरेको निर्णयको जस-अपसजको भागी सरकार नै हुने संवैधानिक व्यवस्थाबारे पनि उनले स्मरण गराएका छन्।
कानून नमिलेको भए मिलाउने, संशोधन गर्ने अधिकार संसद्लाई भएको बताउँदै अहिले संविधान, यो व्यवस्था, गणतन्त्रमाथि नै प्रहार भइरहेको उनको भनाइ थियो। “तपाईंहरू जस्तो संविधान र गणतन्त्रप्रति प्रतिबद्ध भएका नेताले होशियार भएर सोच्न जरुरी छ,” राष्ट्रपति पौडेलले भने, “म सुन्छु, सबै कुराको दोष राष्ट्रपति संस्थामाथि थोपरेर यो व्यवस्था र गणतन्त्र नै ठीक छैन भन्ने पुष्टि गर्न र ७० वर्ष लडेर ल्याएको यो प्रणालीलाई कमजोर पार्न खोजिंदै छ। यसमा तपाईंहरू सचेत हुनुहोला र यसलाई जोगाउनु तपाईंहरूको दायित्व हो।”
संविधानले राष्ट्रपतिलाई विवेक प्रयोग गर्न दिएको ठाउँमा आफूले प्रश्न उठाएर ३४ जनाको आममाफीका लागि गृह मन्त्रालयबाट आएको पत्र फिर्ता गराएको उनले स्मरण गराए। यसमा संसद्, सरकार, प्रधानमन्त्री, गृहमन्त्रीलाई जवाफदेही बनाउनुपर्ने उनको भनाइ थियो।
“संविधानमा राष्ट्रपतिले स्वविवेकले आममाफी दिन सक्ने व्यवस्था टेकेर आएको ३४ जनाबारे विधि, प्रक्रियाका सम्बन्धमा मैले प्रश्न उठाएर गृह मन्त्रालयमा फर्काइदिएको छु,” राष्ट्रपति पौडेलले भने, “जहाँसम्म ६७० जनाको बाँकी कैद मिनाहाको विषय छ, त्यो सबै प्रक्रिया पुर्याएर मन्त्रिपरिषद्ले निर्णय गरेपछि आएको विषय मैले स्वीकार गर्नुपर्ने संवैधानिक व्यवस्था छ।”