पुल बनेपछि हट्यो लौरोले नापेर खोला तर्नुपर्ने बाध्यता
लुदी खोलामा पक्की पुल बनेसँगै गोरखाको शहीद लखन गाउँपालिका-५ र गोरखा नगरपालिका-८ का बासिन्दाको लौरोले नापेर खोला तर्नुपर्ने बाध्यता हटेको छ।
खोलामा झोलुङ्गे पुल समेत नहुँदा बर्खा लागेपछि हरेक वर्ष गोरखाको शहीद लखन गाउँपालिका-५ र गोरखा नगरपालिका-८ का बासिन्दा ज्यान जोखिममा राखेर लुदी खोला वारपार गर्थे। नजिकको बजार गोरखा सदरमुकाम पुगेर दैनिक उपभोग्य सामग्री खरीदका लागि ताक्लुङ र आसपासका बासिन्दालाई लुदी खोला वारपार नगरी सुखै थिएन।
तर, गत वर्ष लुदी खोलामा पक्की पुल बनेपछि त्यहाँका बासिन्दालाई अहिले सजिलो भएको छ। गण्डकी प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय, लमजुङ र विश्व ब्यांकको आर्थिक सहयोगमा लुदी खोलामा तीन करोड ४४ लाख ३१ हजार रुपैयाँको लागतमा पक्की पुल निर्माण गरिएको हो। पुल २१.७० मिटर लम्बाइ र ६ मिटर चौडाइको छ।
“लुदी खोलामा बर्खा लागेपछि वारपारसम्म भेल आउने भएकाले सानो आँटले खोला तर्न सकिंदैनथ्यो। अहिले पुल बनेपछि धेरै सजिलो भएको छ,” गोरखा-८, लक्ष्मीबजारका ६९ वर्षीय हर्कबहादुर थापाले भने।
पुल नहुँदा मोटरसाइकल लगायत सवारीसाधन समेत बर्खाका वेला जोखिम मोलेर वारपार गराउनुपर्दा उस्तै कठिनाइ हुने गर्थ्यो।
“छोटो र मुख्य बाटो भएकाले पनि घन्टौं लगाएर घुमेर सदरमुकाम पुग्नुभन्दा अधिकांश मानिस जोखिम मोलेरै खोला वारपार गर्दथे,” अर्का स्थानीय रामचन्द्र ढकालले भने, “बर्खाका वेला घाँटी घाँटीसम्म आउने खोला तरेरै भए पनि काम टार्न पर्थ्यो।”
उनका अनुसार स्थानीयले कैयौं पटक लौरोले पानी नापेर खोला वारपार गर्थे।
पुल निर्माण भएसँगै गाउँपालिकाभित्र उत्पादन हुने कृषिजन्य सामग्री बजारीकरणका लागि समेत सजिलो भएको शहीद लखन गाउँपालिका-५, ताक्लुङकी सानुमाया परियारले बताइन्। -रासस