कलामा काठमाडौंको वैभव (भिडिओ)
देश तथा विदेशमा रहेका कलाकारले उतारेका काठमाडौं उपत्यकाको मिथकीय उत्पत्तिदेखि अहिलेसम्मको वैभवका चित्र ‘हाम्रो राम्रो उपत्यका’ मा देख्न सकिन्छ।
काठमाडौं उपत्यकाको उत्पत्ति कसरी भएको थियो? कलाकार महिमा सिंहले यसलाई कलामा उतारेकी छन्। उनले काठमाडौं उपत्यकाको उत्पत्ति हुनुपूर्वको कमल पाइने दह र मञ्जुश्रीको पालाको चर्या नृत्यलाई मल्टिमिडिया मार्फत देखाएकी छन्।
त्यस्तै, पाटनमा मनाइने ‘मत्या’ पर्वमाथिको कलाकार सुशीला सिंहको कलाले पनि दर्शकलाई आकर्षित गरिरहेको छ। मत्या पर्व पाटनका बासिन्दाले मनाउने प्रार्थना सहितको परिक्रमा हो। परिवारका दिवङ्गत सदस्यको आत्माको चिरशान्तिको कामना गर्दै परिक्रमा गरिन्छ। यसैलाई सिंहले कला मार्फत प्रस्तुत गरेकी छन्।
यस्तै मिथक र संस्कृति सँगसँगै काठमाडौं उपत्यकाको जनजीवन, सम्पदालाई कलामा उतारिएको छ। काठमाडौं उपत्यकाको प्राकृतिक भूदृश्य र यहाँको संस्कृतिको उत्सव मनाउन प्रदर्शनी आयोजना गरिएको क्युरेटर स्वाती राजभण्डारी कायस्थले बताइन्।
“कुनै कलाकारले काठमाडौंको सम्पदामाथि सिर्जना गरेका छन् भने कुनैले ललितपुर, भक्तपुर र अन्य सम्पदामाथिको मूर्त तथा अमूर्त सिर्जनालाई प्रस्तुत गरेका छन्,” कायस्थले भनिन्।
कलाकारको आँखाबाट काठमाडौं कस्तो देखिन्छ भन्ने उदाहरण यो प्रदर्शनले दिएको कलासमीक्षक बताउँछन्। “तराईमा जन्मेहुर्केका कलाकारले काठमाडौंको स्वयम्भूलाई कसरी लिएका रहेछन् भन्ने एएस सुमनका कामले प्रभावकारी रूपमा देखाएका छन्,” समीक्षक सुनिल पौडेलले भने। काठमाडौंलाई बुझ्न यो प्रदर्शनी महत्त्वपूर्ण भएको पौडेलको भनाइ छ।
काठमाडौं उपत्यका नै ललित कलामा समृद्ध भएकाले यो खुला पाठशाला भएको हिति प्रणाली पुस्तकका लेखक पद्मसुन्दर जोशीको टिप्पणी छ।
“काठमाडौं उपत्यका पूरै नेपाललाई विश्वमा चिनाउने प्राकृतिक सौन्दर्य सहितको मानवनिर्मित धरोहर हो। न्यातापोलको कलात्मकतादेखि बौद्धका शान्त आँखा, तलेजुको वास्तुविलासदेखि महाबौद्धको हजार बुद्धप्रतिमासम्मले वास्तुकलाको उचाइ दर्शाउँछन्,” जोशी भन्छन्, “उपत्यका र वरपर फैलिएको नेवार सभ्यतामा यिनै मूर्त सम्पदाको आँगनमा गर्ने रथयात्रादेखि गाईजात्रासम्मले यी पार्थिव वास्तुकलालाई थप जीवन्त बनाएका छन्।”
यही काठमाडौं उपत्यकाको वैभवलाई नेपाल कला परिषद्मा चलिरहेको प्रदर्शनीमा हेर्न सकिन्छ। प्रदर्शनीमा चित्रकला, मूर्तिकला, प्रतिस्थापन कला गरी ६४ कलाकारका ६१ कलाकृति विविध माध्यममा राखिएका छन्। प्रदर्शनी कात्तिक २४ गतेसम्म चल्नेछ।