नारायण ढकालले ल्याए ‘अन्तिम पात’
साहित्यकार नारायण ढकालको नयाँ निबन्धसंग्रह अन्तिम पात प्रकाशन भएको छ।
ढकालको यो १९औं पुस्तक हो। तीन खण्डमा विभाजित पुस्तकमा २०५७ देखि २०७९ सालसम्म लेखिएका निबन्ध संगृहीत छन्। बितेका २२ वर्षभित्र लेखिएका २२ वटा निबन्ध यसमा समावेश गरिएको ढकालले बताए।
यसमा केही नयाँ र केही यसअघि पत्रपत्रिकामा प्रकाशित निबन्ध समेटिएका छन्। पुस्तकमा ढकालका निजात्मक अनुभूतिदेखि नेपाली समाज तथा जनजीवनका विभिन्न आयामका कलात्मक बान्की प्रस्तुत गरिएको वेला पब्लिकेशन्सले जनाएको छ।
उनी २०२८ सालदेखि लेखनमा सक्रिय छन्। ढकालका आत्महन्ता, इन्द्रजाल, दुर्भिक्ष, प्रेतकल्प, शोकमग्न यात्री, वृषभ वध, हजार माइलको बाटो लगायत पुस्तक चर्चित छन्।