पशुपतिको जलहरीमा भ्रष्टाचार, तीन जना विरुद्ध मुद्दा दर्ता
पशुपतिनाथको मन्दिरमा राखिएको जलहरीमा भ्रष्टाचार भएको ठहर गर्दै सदस्य-सचिव सहित तीन जना विरुद्ध मुद्दा दर्ता गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पशुपति क्षेत्र विकास कोष सञ्चालक समितिका पूर्व सदस्य-सचिव डा. प्रदीप ढकाल, पूर्व कोषाध्यक्ष एवं हालका सदस्य-सचिव डा. मिलनकुमार थापा र स्टोरकीपर अरुणकुमार श्रेष्ठ विरुद्ध मुद्दा दर्ता गरेको हो। जलहरी राख्दा उनीहरूले भ्रष्टाचार गरेको पाइएकाले विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए।
पूर्व सदस्य-सचिव ढकाल र अहिलेका सदस्य-सचिव थापा मिलेर एक करोड १७ लाख एक हजार ७८१ रुपैयाँ ८५ पैसा बराबरको सुन हिनामिना गरेको अख्तियारको अनुसन्धानमा देखिएको छ। विशेष अदालतमा दर्ता भएको मुद्दामा दुवै जनाबाट सोही बराबर बिगो माग दाबी गरिएको छ।
त्यसमा स्टोरकीपर श्रेष्ठ पनि संलग्न देखिएको अख्तियारले जनाएको छ। त्यसैले उनी विरुद्ध पनि सोही बराबरको बिगो माग दाबी गरिएको छ।