पूर्व न्यायाधीश आचार्यको नेतृत्वमा सुन तस्करी जाँचबुझ आयोग गठन
सरकारले सुन तस्करीको जाँचबुझ गर्न उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा आयोग गठन गरेको छ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन्। सरकारले चार सदस्यीय आयोग गठन गरेको हो।
आयोगमा किशोरजंग कार्की, प्रेमबहादुर जोशी र सहकुल थापा सदस्य छन्। समितिले सुन तस्करी सम्बन्धी जाँचबुझ गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ।
यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दलहरूबीच आयोग गठन गर्ने सहमति भएको थियो। सुन तस्करी प्रकरणका सम्बन्धमा नेकपा (एमाले) लगायत दलले उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएका थिए। गत भदौ ६ गते सरकार र राजनीतिक दलबीच आयोग गठन गर्ने सहमति भएको थियो।
सोही सहमतिका आधारमा आज मन्त्रिपरिषद्ले जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो।