माल्दिभ्स ७४ रनमा ‘अल आउट’, नेपालको फराकिलो जित
१९औं एशियाली खेलकूद अन्तर्गत दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ।
केही बेरअघि सम्पन्न खेलमा २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९ ओभर चार बलमा ७४ रनमा अल आउट भयो। खेल नेपालले १३८ रनको फराकिलो अन्तरले जित्यो।
माल्दिभ्सका लागि मुआवियाथ घानीले ३६ रन बनाए। रशीद रसमले १२ तथा फरीद शिउसले १० रन बनाए। अरू खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। माल्दिभ्सका ६ खेलाडी शून्य रनमा आउट भएका थिए।
बलिङतर्फ नेपालका लागि अविनाश बोहोराले ६ विकेट लिए। उनको तीन ओभर चार बलको स्पेलमा माल्दिभ्सले केवल ११ रन बनाएको थियो। यस्तै, सोमपाल कामी, गुल्सन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक विकेट लिए।
यसअघि टस जितेर नेपालले पहिला ब्याटिङ गरेको थियो। २० ओभरमा सात विकेटको क्षतिमा नेपालले २१२ रन बनाएको थियो।
ब्याटिङतर्फ नेपालका लागि कप्तान रोहित पौडेलले २७ बलमा ५२ रनको अर्धशतकीय पारी खेलेका थिए भने कुशल मल्लले २० बलमा अविजित ४७ रन बनाएका थिए। गुल्सन झा र कुशल भुर्तेलले समान ३५ रन बनाउँदा विनोद भण्डारीले १३ रनको पारी खेलेका थिए। अरू खेलाडीले भने दोहोरो अङ्कमा रन बनाउन सकेका थिएनन्।
बलिङतर्फ मंगोलियाका लागि इस्माइल नजुवानले तीन विकेट लिएका थिए। मोहम्मद रायन, मोहम्मद मिउवान र नाइल इस्माइले समान एक विकेट लिए।