स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई क्रियाशील बनाइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ।
शनिबार मन्त्रालयका तर्फबाट निमित्त सचिव डा. दीपेन्द्ररमण सिंह र संघर्ष समितिका तर्फबाट संयोजक डा. शेषराज घिमिरेले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।
सहमति अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७७)लाई प्रभावकारी रूपमा कार्यान्वयन गरी मणिपाल मेडिकल कलेज लगायत स्वास्थ्य संस्थाहरूमा सुरक्षा थप भरपर्दो बनाइने भएको छ। यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई क्रियाशील बनाइने भएको छ।
यस्तै, सहमतिको दोस्रो बुँदामा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने वा स्वास्थ्य संस्थामा आक्रमण गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७७) बमोजिम कारबाही गरिने उल्लेख छ।
यसैगरी, स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई तीन वर्षभन्दा बढी सजाय गर्न पनि सरकार प्रतिबद्ध भएको तेस्रो बुँदामा उल्लेख छ। यो सहितका विषयमा कानून संशोधन गर्न स्वास्थ्य मन्त्रालयले एक हप्ताभित्र प्रक्रिया अघि बढाउने भएको छ।
चौथो बुँदामा चिकित्सक, आवासीय चिकित्सक, मेडिकल अधिकृत, इन्टर्न डाक्टर तथा स्वास्थ्यकर्मीहरूको सेवा, सुविधामा न्यूनतम सरकारी सरह एकरूपता कायम गर्ने लगायत तत्काल सुधार गर्नुपर्ने विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका प्रतिनिधि रहेको समिति १५ दिनभित्र गठन गर्ने पनि सहमति भएको छ।
स्वास्थ्यकर्मीमाथि बारम्बार भइरहेको कुटपिट तथा दुर्व्यवहारको घटनाको कारक तत्त्व पहिचान एवं निराकरण गर्न आवश्यक नीतिगत सुधारका विषय समेटी प्रतिवेदन पेश गर्न १० दिनभित्र उच्चस्तरीय कार्यदल गठन गरी तीन महीनाभित्र प्रतिवेदन पेश गर्ने पाँचौं बुँदामा उल्लेख छ।
यस्तै, छैटौं बुँदामा भने आन्दोलनका कार्यक्रम अन्त्य गरी नियमित काममा फर्किने उल्लेख छ।
पछिल्लो समय देशका विभिन्न स्थानका अस्पतालमा चिकित्सकमाथि बारम्बार आक्रमण हुन थालेपछि चिकित्सकहरू आन्दोलित भएका थिए।