भारतले जित्यो साफ च्याम्पियनशिपको उपाधि
काठमाडौंमा भएको यू-१९ साफ च्याम्पियनशिपको उपाधि भारतले जितेको छ।
दशरथ रङ्गशालामा शनिबार भएको खेलमा भारतले पाकिस्तानलाई ३-० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो। प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा तीन गोल गरेर भारतले पाकिस्तानलाई स्तब्ध बनाएको हो।
दुवै टोलीले पहिलो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरेका थिए। एकअर्कालाई दबाबमा राखेका दुवै टोलीले पहिलो हाफको अन्तिमतिर रक्षात्मक खेलेका थिए।
दोस्रो हाफको शुरूआतसँगै दुवै टोली आक्रामक बनेका थिए। खेलको ६४औं मिनेटमा भारतलाई मंग्लेनथान किप्गेनले अग्रता दिलाएका थिए। त्यसपछि भारत रक्षात्मक बनेको थियो।
खेलको अन्तिमतिर किप्गेनले नै अर्को गोल थपे। उनले खेलको ८५औं मिनेटमा दोस्रो गोल गरेका थिए।
दोस्रो गोल खाएसँगै पाकिस्तान दबाबमा आएको थियो। इन्जुरी समयमा भारतका लागि वांग्मसार गोयरीले तेस्रो गोल गरेका थिए।
यसअघि सेमिफाइनलमा नेपाललाई पराजित गर्दै भारत फाइनलमा पुगेको थियो। त्यस्तै, भूटानलाई पराजित गर्दै पाकिस्तान फाइनलमा पुगेको थियो।