एमाले कर्णालीको अध्यक्षमा तीन जनाको प्रतिस्पर्धा
नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी अध्यक्षका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ।
कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजंग शाह र कालीकोटकै मीनबहादुर शाही अध्यक्षका प्रतिस्पर्धी बनेका छन्। अध्यक्षमा मनोनयन दर्ता गराएका दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि तीन जनाबीच प्रतिस्पर्धा हुन लागेको हो।
यसअघि अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको थियो। कर्णाली प्रदेश सभा पूर्व सभामुख राजबहादुर शाही र कालीकोटका प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन्।
त्यस्तै, सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाहीबीच प्रतिस्पर्धा हुने भएको छ। सचिवमा उम्मेदवारी दिएका सुर्खेतका डन्डीप्रसाद शर्माले फिर्ता लिएका थिए। उनले रुद्रबहादुर शाहीलाई समर्थन गरेका छन्।
प्रदेशको नेतृत्व सहमतिमा टुङ्ग्याउने प्रयास गरेको एमालले अन्ततः निर्वाचन प्रक्रियाबाटै नेतृत्वको टुङ्गो लगाउने भएको हो। प्रदेश अधिवेशनको उद्घाटन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा नेतृत्व छान्न निर्देशन दिएका थिए।
नेताबीच कुरा नमिल्दा निर्वाचनबाटै नेतृत्व चयन गर्नुपरेको एमाले कर्णाली प्रदेशका अध्यक्ष विनोद शाहले बताए। आजै मतदान हुने उनले बताए।
एमालेले प्रथम अधिवेशनबाट पाँच पदाधिकारी सहित १३५ सदस्य चयन हुनेछन्।