विमानस्थलको जग्गा आफ्नो नाममा हालेका पर्वतराजले २०६३ लिएका थिए नेपाली नागरिकता
सञ्चालनमै रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग सहितको जग्गा आफ्नो नाममा दर्ता गराउने भारतको गोरखपुर पुर्ख्यौली थलो भएका पर्वतराजकान्त मिश्रले २०६३ सालमा नेपाली नागरिकता लिएको पाइएको छ।
मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा २०७९ जेठ २ मा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान शुरू भए। त्यसको झन्डै एक वर्षपछि गत वैशाख ११ मा विमानस्थल सुदृढीकरण कार्य आयोजना एकाइमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-५ का पर्वतराजकान्त मिश्रले मुआब्जा पाऊँ भन्दै निवेदन दिए।
आयोजना एकाइका प्रमुख प्रवेश अधिकारीलाई सम्बोधन गरी लेखिएको निवेदनमा आफ्नो नाममा रहेको चार बिघा १७ कट्ठा ६ धुर जग्गा विमानस्थलले अधिग्रहण गरेकाले नियम अनुसार मुआब्जा उपलब्ध गराइदिन आग्रह गरिएको थियो। सञ्चालन भइरहेको विमानस्थलको धावनमार्ग पर्ने जग्गा व्यक्तिको नाममा देखिएपछि आयोजनाका पदाधिकारी छक्क परे।
उनीहरूले निवेदनसँगै पेश गरिएका कागजात अध्ययन गरे। त्यसपछि झन रनभुल्ल भए। किनकि, निवेदन दिएकोभन्दा तीन दिनअघि अर्थात् वैशाख ८ मा मात्रै विमानस्थलको धावनमार्ग सहितको जग्गा पर्वतराजकान्तको नाममा दर्ता गरिएको थियो।
“निवेदकले मुआब्जाका लागि चाहिने कागजात सबै पेश गरेका थिए,” आयोजना एकाइ प्रमुख अधिकारी भन्छन्, “कागजातमा भर परेर प्रक्रिया अघि बढाएको भए जेठमा नै उनले मुआब्जा पाउने थिए। तर, शङ्का लागेर कानूनी परामर्शमा गयौं।”
यसमा शङ्का गर्नुपर्ने अवस्था भने स्थानीय बासिन्दाले बनाएका हुन्। पर्वतराजकान्तले निवेदन दिनुअघि नै भैरहवाका बासिन्दाले आयोजना एकाइ प्रमुख अधिकारीलाई जग्गा कीर्ते गरेर मुआब्जा लिने खेल भइरहेको सूचना दिंदै त्यो प्रक्रिया रोक्न ज्ञापनपत्र बुझाइसकेका थिए। ज्ञापनपत्रमा ५८ वर्षअघि हदबन्दीमा परेपछि मन्दिरलाई दिइएको चार बिघा १७ कट्ठा जग्गा व्यक्तिका नाममा दर्ता गरी मुआब्जा लिने खेल भइरहेको उल्लेख थियो।
स्थानीय बासिन्दाको दबाब र शङ्कास्पद कागजात देखेपछि आयोजना प्रमुख अधिकारीले मुआब्जा दिने प्रक्रिया अघि बढाएनन्। बरु कानूनी परामर्श माग्दै नेपाल नागरिक उड्ययन प्राधिकरणलाई दुई वटा पत्र लेखे।
प्राधिकरणले मालपोत कार्यालयसँग थप कुरा बुझ्नुपर्ने आशयको जवाफ दियो। त्यसपछि आयोजनाले साउन २६ गते जग्गा दर्ताको विषयबारे प्रस्ट पार्न आग्रह गर्दै मालपोत कार्यालय, रुपन्देहीलाई पत्र लेख्यो। भदौ १७ मा त्यसको प्रत्युत्तर दिंदै मालपोत कार्यालयले जग्गा दर्ता वैधानिक रहेको जिकिर गर्यो। अझ मुआब्जाका लागि पर्वतराजकान्त योग्य रहेको आशयपूर्ण जवाफ पठायो।
मालपोतको पत्रले भने विमानस्थल आयोजना बिखलबन्दमा परेको छ। “मालपोतले जग्गा दर्ता गर्दा पर्याप्त अध्ययन गरेन भन्ने हाम्रो बुझाइ छ,” आयोजना प्रमुख अधिकारी भन्छन्, “कागजात कीर्ते गरेको भन्ने स्थानीय बासिन्दाले बताएपछि मुआब्जाको प्रक्रिया थाती राखेर आन्तरिक रूपमा कानूनी छलफलमा छौं।”
जिल्ला मालपोत कार्यालयले भने उच्च अदालतको परमादेशका आधारमा जग्गा दर्ता गरेको दाबी गरेको छ। यो विवाद दुई वर्षअघि जिल्ला अदालत हुँदै उच्च अदालत पुगेको थियो।
विमानस्थलभित्र पर्ने यस जग्गामा कसको हक लाग्ने भन्ने विषयमा हरिप्रसाद वर्नवाल, हरिशंकर मिश्र र पर्वतराजकान्त मिश्रबीच विवाद भयो। त्यसपछि उनीहरू जिल्ला अदालत, रुपन्देही गए।
जिल्ला अदालत पुगेका उनीहरूबीच २०७८ पुस ८ मा एकाएक पर्वतराजकान्तको नाममा जग्गा दर्ता हुने गरी मिलापत्र भयो। त्यही मिलापत्र बोकेर पर्वतराजकान्त जग्गा दर्ता गर्न मालपोत कार्यालय गएका थिए। तर, मालपोतले जग्गा दर्ता गर्न मानेन।
त्यसपछि पर्वतराजकान्तले पुस २५ मा मिलापत्रको कार्यान्वयन गराइपाऊँ भन्दै उच्च अदालत, तुुलसीपुरको बुटवल इजलासमा रिट हाले। उच्च अदालतका न्यायाधीशद्वय चन्द्रबहादुर सारू र किरण पौडेलको संयुक्त इजलासले ‘निवेदन उपर कुनै निर्णय गरेको नदेखिंदा जे-जो बुझ्नुपर्ने हो, बुझी आवश्यक निर्णय गर्नू गराउनू’ भनी विपक्षी भूमिसुधार तथा मालपोत कार्यालय, रुपन्देहीका नाममा परमादेश जारी गरेको थियो।
उच्च अदालतको त्यही परमादेशका आधारमा मालपोतले जग्गा दर्ता गरिदिएको रुपन्देहीका प्रमुख मालपोत अधिकृत कुमार आचार्य बताउँछन्। “अदालतको परमादेश अनुसार मिलापत्रको कार्यान्वयन गरी जग्गा दर्ता गरिएको हो,” आचार्य भन्छन्।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल।
उच्च अदालतको आदेश र मालपोत कार्यालयको जग्गा दर्ता गर्ने निर्णयमा भने तालमेल देखिंदैन। अदालतले पर्वतराजकान्तको नाममा जग्गा दर्ता गर्नुपर्ने आदेश नदिएको विमानस्थलका कर्मचारीहरूको बुझाइ छ। “अदालतले ‘जे-जो बुझ्नुपर्ने हो, बुझ्नू’ भनेकोमा मालपोतले केही पनि नबुझी प्रक्रिया अगाडि बढाएको हो कि भन्ने लागेको छ,” आयोजना प्रमुख अधिकारी भन्छन्।
विमानस्थलको अधिग्रहणमा परेको जमीन व्यक्तिका नाममा लैजाँदा मालपोतले मुआब्जा वितरण समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी, विमानस्थल आयोजना र नागरिक उड्डयन प्राधिकरणसँग कुनै परामर्श नलिएको आयोजना प्रमुख अधिकारी बताउँछन्।
यस्तो छ जग्गा विवाद
अहिले देखिएको जग्गा विवादको साइनो २०२५ सालमा मृत्यु भएकी भैरहवाकी जमीनदार सुर्जा मिश्राइनसँग जोडिन पुग्छ। २०२१ सालमा भूमि सम्बन्धी ऐन लागू भएपछि मिश्राइनको हकभोगमा ३० बिघा १४ कट्ठा १४ धुर जग्गा फाँटबारी आयो। तत्कालीन ऐनले तराई क्षेत्रमा अधिकतम ११ बिघा हदबन्दी तोकेको थियो।
त्यति वेला जमीनदार सुर्जाले हदबन्दी र मोहियानी लाग्ने जग्गा बाहेकको करीब पाँच बिघा जग्गा स्थानीय कालीजी (कालीमाई) मन्दिरलाई दिइन्। उनले २०२२ पुस २० गते मन्दिरलाई जग्गा दान गरेकी थिइन्।
त्यसको तीन वर्षपछि २०२५ माघ १८ मा सुर्जाको मृत्यु भयो। निःसन्तान सुर्जाको नाममा रहेको जग्गामा कसको हक लाग्ने भन्ने विवाद पनि शुरू भयो। अपुतालीको १७ नं. बमोजिम लुम्बिनी अञ्चलाधीशको कार्यालयले हकदारका नाउँमा हकदाबी पेश गर्न तीनमहीने म्याद दिएर २०२५ फागुन ६ गते सूचना निकाल्यो।
त्यही सूचना अनुसार भारतको गोरखपुरका रमाकान्त मिश्र आफ्नो हकदाबी पेश गर्न बुटवल आए। विदेशी नागरिकले पनि आफन्तको नाममा नेपालमा रहेको सम्पत्ति लिन पाउने कानूनी व्यवस्था छ। रमाकान्तले सुर्जाका मूल पुर्खाका सन्तानका रूपमा ‘म मात्र जीवित भएको र अरू निःसन्तान भएकाले हकवाला म मात्र छु’ भन्ने निवेदन दिए।
त्यससँगै उनले ग्राम पञ्चायतको मिलापत्र र गोरखपुर कलकटरी कार्यालयबाट प्राप्त गरेको कर्साको खतौनीको नक्कल पेश गरे। तर, लुम्बिनी अञ्चलाधीशको कार्यालयले हकदार प्रमाणित गर्न तथ्ययुक्त सबूत प्रमाण नभएको भन्दै ‘हकदार होे भन्ने कुरा नठहर्ने’ फैसला निर्णय गर्यो।
त्यो निर्णय विरुद्ध रमाकान्त त्यति वेलाको पश्चिमाञ्चल क्षेत्रीय अदालत, पोखरा पुगे। क्षेत्रीय अदालतले पनि ‘अञ्चलाधीश कार्यालयबाट भएको निर्णय मनासिब छ’ भन्ने फैसला सुनायो।
त्यसपछि उनी सर्वोच्च अदालत पुगे। सर्वोच्चका न्यायाधीशद्वय हेरम्बराज र बब्बरप्रसाद सिंहको संयुक्त इजलासले २०३६ जेठ १८ गते रमाकान्तको पक्षमा फैसला गर्यो। अञ्चलाधीश कार्यालय र क्षेत्रीय अदालतको फैसला उल्ट्याउँदै सर्वोच्चले सुर्जाको हकदार रमाकान्त ठहर्ने फैसला सुनायो।
उनै रमाकान्तका नाति पर्वतराजकान्त मिश्रले विमानस्थलभित्र पर्ने सुर्जाको हकदारका रूपमा अपुताली पाएको धेरै जग्गा बेचिसकेका छन्। बिक्री गरेर बाँकी रहेको एक बिघा एक कट्ठा जग्गा विमानस्थलले अधिग्रहण गरेको थियो। त्यसको पनि उनले मुआब्जा लिएका थिए।
अहिलेको विवाद अपुतालीमा पाएको जग्गाको नभई सुर्जाले मन्दिरलाई दान गरेको जग्गामा भएको हो। साविक भुजौली नक्शा शीट नं. ९ (ख) को कित्ता नं. ७, २९, ३२, ६७, ६८, ९२ र ९४ को जग्गा कालीमाई मन्दिरलाई छाडिएको थियो। त्यो जग्गा विमानस्थलको धावनमार्ग सहितको क्षेत्रमा पर्छ। त्यही जग्गालाई पर्वतराजकान्तले गत वैशाख ८ गते आफ्नो नाममा दर्ता गराएका छन्।
विमानस्थल आयोजनाका कर्मचारीहरूका अनुसार त्यो जग्गाको मुआब्जा नौ करोडभन्दा बढी आउने देखेपछि पर्वतराजकान्तले भूमाफियासँगको मिलेमतोमा कीर्ते गरी आफ्नो नाममा दर्ता गराएका हुन्। “पर्वतराजकान्तको नाममा जग्गा दर्ता गराउनमा मालपोत कार्यालयको पनि शङ्कास्पद भूमिका देखिएको छ,” यसको अध्ययन गरिरहेका विमानस्थल आयोजनाका एक कर्मचारी भन्छन्, “पर्वतराजकान्त मालपोतका कर्मचारीलाई हातमा लिई मुआब्जा हत्याउने प्रयासमा देखिन्छन्।”
पर्वतराजकान्तको कीर्ते धन्दा यो पहिलो होइन। यसअघि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकास्थित (साविकको वडा नं. १० मा) विमानस्थल नजिकै लुम्बिनी रोडको सार्वजनिक जग्गा पनि उनले हाउजिङ कम्पनीलाई बिक्री गरेका थिए।
त्यो जग्गा नगरपालिकालाई वार्षिक धुरीकर तिरेर १२ परिवारले उपभोग गर्दै आएका थिए। २०२२ सालदेखि भोगचलन गर्दै आएको उनीहरू बताउँछन्। तर, जिल्ला नापी कार्यालय, रुपन्देहीको फिल्डबूक अनुसार भुजौली ‘क’ मा पर्ने कित्ता नं. १० को चार बिघा १३ कट्ठा नौ धुर जग्गा एकाएक शिलु हाउजिङ कम्पनीको नाममा पुग्यो।
जग्गा प्लटिङ गर्न कम्पनी आएपछि मात्रै स्थानीय बासिन्दाले आफूले भोगचलन गर्दै आएको जमीन बेचिएको थाहा पाएका थिए। पछि रहस्य खुल्यो, २०२२ सालदेखि उनीहरूले भोगचलन गर्दै आएको जग्गा पर्वतराजकान्तले जिल्ला मालपोत कार्यालयका कर्मचारीलाई हात लिएर २०६५ भदौ ३१ मा आफ्नो नाममा दर्ता गरेका रहेछन्। त्यसपछि २०६५ माघ २२ मा पर्वराजकान्तबाट शिलु हाउजिङले किनेको रहेछ।
त्यसअघि पनि पर्वतराजकान्तले सुदामा हरिजन, जितलाम लोहार, कलिम मुसलवान, इसु मुसलवान, जगदम्बा पाण्डे र कालीमाई मन्दिरले भोगचलन गर्दै आएको त्यही वडाको अर्को चार बिघा जग्गा पनि आफ्नो नाममा दर्ता गराएको भेटिएको थियो। गत वर्ष गौतमबुद्ध विमानस्थल कार्यालयले जग्गा अधिग्रहणको सूचना निकालेपछि मात्रै पर्वतराजकान्तको नाममा जग्गा नामसारी भएको थाहा पाइएको थियो।
को हुन् पर्वतराजकान्त?
भारतको गोरखपुरकी सुर्जा मिश्राइन भैरहवामा बस्थिन्। यतै जग्गाजमीन जोडेकी थिइन्। उनको मृत्युपछि हकदाबी गर्न आएका रमाकान्त मिश्र पनि भारतीय नागरिक नै हुन्। उनी गोरखपुरमै बस्थे।
रमाकान्तका नाति हुन् पर्वराजकान्त। उनी पनि भारतको गोरखपुरमै बस्दै आएका छन्। उनले कसरी नेपाली नागरिकता पाए?
भारतीय नागरिक पर्वतराजकान्तले १७ वर्षअघि नेपाली नागरिक लिएको पाइएको छ। २०६३ मा सिद्धार्थनगर नगरपालिका-५ मा खटिएको टोलीबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन्।
उनको नागरिकताको प्रमाणपत्रमा २०६३ फागुन ६ गते नागरिकता प्रदान गरिएको उल्लेख छ। नागरिकता लिने वेला उनी ३१ वर्षका थिए।
उनलाई नागरिकता दिएसँगै विवाद उत्पन्न भएको थियो। त्यति वेला भारतीय नागरिकलाई नागरिकता दिएको भनेर विरोध पनि गरेको स्थानीय बासिन्दा बताउँछन्।
नागरिकता टोलीले वास्ता नगरेपछि स्थानीय वशिष्ठनारायण त्रिपाठीले पर्वतराजकान्त भारतीय नागरिक भएकाले नागरिकता बदर गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी पनि दिएका थिए। तर, तत्कालीन प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले भारतमा जग्गाजमीन नभएको, मतदाता नामावलीमा नपरेको र नगरपालिकामा स्थायी बसोबास गरेको भन्दै २०६५ माघ १५ मा पर्वराजकान्तको नागरिकता सदर गरेका थिए।
नागरिकता बनाएपछि पर्वतराजकान्तले आफ्ना बाबु जगदीशकान्त मिश्र सहित परिवारका चार जना सदस्यको एकै दिन मृत्यु भएको प्रमाणपत्र पनि लिएको पाइएको छ। उनले सिद्धार्थनगर नगरपालिकाबाट २०६४ पुस १० मा एकै दिन चारै जनाको मृत्यु दर्ताको प्रमाणपत्र लिएका थिए।
उनले प्रमाणपत्र लिंदा चारै जनाको सिद्धार्थनगर नगरपालिका-५ स्थित घरैमा मृत्यु भएको खुलाएका थिए। तर, त्यो वडाका कसैलाई पनि पर्वतराजकान्तका परिवारको अस्तित्व र मृत्युबारे थाहा थिएन।
किनकि, पर्वतराजकान्तको स्थायी घर सिद्धार्थनगरमा थिएन। अहिले पनि उनको घर भारतको गोरखपुरमै रहेको स्थानीय बासिन्दा बताउँछन्। उनीहरूका अनुसार १४ वर्षअघिसम्म पनि उत्तर प्रदेशको गोरखपुर जिल्लाको सहजनवामाको मतदाता नामावलीमा पर्वतराजकान्तको नाम उल्लेख थियो।
यस विषयमा कुराकानी गर्न खोज्दा उनले नागरिकतामा उल्लेख गरेको गाउँमा भेटिएनन्। स्थानीय बासिन्दाका अनुसार उनी भारतको गोरखपुरमा बस्छन्। गोरखपुरबाट भैरहवा आवतजावत गरिराख्छन्।