नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले कोरोना महामारी शुरू हुनुअघि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन्।
चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै परम्परागत ढङ्गले उत्तरी सीमा क्षेत्रमा स्थानीय रूपमा प्रयोग गरेका नाका प्राविधिक र आवश्यक तयारी पूरा गरेर सञ्चालनमा ल्याउन दुई देशबीच सहमति भएको बताएका हुन्।
केही नाकालाई व्यवस्थित गर्नेबारे चीन सरकारले अनुदान उपलब्ध गराउने वचन दिएको प्रधानमन्त्री दाहालको भनाइ थियो। “वैधानिक ढङ्गले सबै नाका खोल्ने सहमति भएको छ। केही नाका अनुदानमा बनाइदिन्छौं भन्ने सहमति भएको छ,” उनले भने।
यस्तै, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनबारे पनि महत्त्वपूर्ण छलफल भएको उनले जानकारी दिए। आन्तरिक रूपमा पनि केही तयारी गर्नुपर्ने देखिएको उल्लेख गर्दै उनले चीनको छेन्दुबाट सहजै द्विपक्षीय उडान हुने बताए।
चीनका अन्य शहरबाट पनि आवश्यक प्रक्रिया पूरा गरेर हवाई उडानलाई नियमित गर्नेबारे छलफल भएको प्रधानमन्त्री दाहालको भनाइ थियो।