भारतको ‘रियल टाइम मार्केट’ मा विद्युत् बेच्न नेपाललाई अनुमति
नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेन्ज (आइएक्स)को ‘रियल टाइम मार्केट’ मा पनि विद्युत् बिक्री गर्न अनुमति पाएको छ।
अहिलेसम्म प्राधिकरणले भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) मात्रै बोलपत्र प्रक्रियामा सहभागी भई बिजुली बेच्दै आएको थियो। अब सवा घण्टाअघि नै त्यस्तो प्रक्रिया पूरा गरी विद्युत् बिक्री गर्न पाउने भएको प्राधिकरणको विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीले बताए।
भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले आज मात्रै ‘रियल टाइम मार्केट’ मा विद्युत् बिक्री गर्न प्राधिकरणलाई स्वीकृति दिएको हो। यस अन्तर्गत उत्पादन अनुसार प्राधिकरणले सवा घण्टाअघि ‘बिडिङ’ गरी भारतीय बजारमा विद्युत्को कारोबार गर्न पाउनेछ।
भारतको विद्युत् मन्त्रालयले गत साउन १५ मा विद्युत् आयात-निर्यात (क्रस बोर्डर) स्वीकृति तथा सहजीकरणका लागि तोकिएको निकायको कार्यविधि संशोधन मार्फत छिमेकी देशका अनुमतिप्राप्त निकायलाई ‘रियल टाइम मार्केट’ मा पनि सहभागी हुन पाउने व्यवस्था गरेको थियो।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले पहिलो चरणमा १९.४ मेगावाटको तल्लो मोदी र २४.२५ मेगावाटको काबेली ‘बी–१’ जलविद्युत् आयोजनाबाट उत्पादित करीब ४४ मेगावाट बिद्युत् ‘रियल टाइम मार्केट’ मा बिक्रीको अनुमति दिएको छ। यी दुवै आयोजनाको विद्युत् अहिले ‘डे अहेड’ मार्केटमा बिक्री भइरहेको थियो। ‘डे अहेड मार्केट’ मा दिइएको अनुमति आज सकिंदै छ। ‘डे अहेड’ को नवीकरणका लागि पठाइएकामा दुई आयोजनाको विद्युत् ‘डे अहेड’ र ‘रियल टाइम मार्केट’ मा बिक्रीका लागि अनुमति प्राप्त भएको निर्देशक अधिकारीले बताए।
अब दुई आयोजनाको विद्युत् ‘डे अहेड’ र आवश्यकता अनुसार ‘रियल टाइम मार्केट’ मा बिक्री गर्न सकिने उनले बताए। “यसअघि प्रतिस्पर्धी बजारबाट विद्युत् आयात-निर्यातका लागि एक दिन पर्खनुपर्नेमा अब सवा घण्टाअघि बिड गरेर कारोबार गर्न पाउने भएका छौं, यसले अचानक विद्युत् उत्पादन बन्द भएमा वा उत्पादन बढेमा विद्युत् खरीद-बिक्री गर्न सक्ने अवस्था निर्माण भएको छ,” अधिकारीले भने। यसबाट विद्युत् व्यवस्थापनमा सहजता आउनुका साथै दुई देशको विद्युत् व्यापारमा नयाँ इँटा थपिएको उनको भनाइ छ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षा यामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ। प्राधिकरणले आईएक्सको ‘डे अहेड’ बजारमा प्रतिस्पर्धा मार्फत र केही अघिबाट मध्यकालीन विद्युत् सम्झौता बमोजिम करीब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लिमेटेड (एनभीभीएन)लाई बिक्री गरिरहेको छ। एनभीभीएनले विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ।
प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएन मार्फत हरियाणा राज्यलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ। यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर-टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ। प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा पाँच अर्ब ४३ करोड ३१ लाख बराबरको विद्युत् भारततर्फ निर्यात गरेको छ। –रासस