प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता
संयुक्त राष्ट्रसंघको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार स्वदेश फर्केका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्री, सांसद, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्च अधिकारीले स्वागत गरेका छन्।
प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधित्व मण्डल आज चीनको छेन्दुबाट स्वदेश फर्केको हो। उनलाई सिचुवान प्रान्तका उच्च अधिकारी, नेपालका लागि चिनियाँ राजदूत लगायतले बिदाइ गरेका थिए।
संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन प्रधानमन्त्री दाहाल गत भदौ ३० गते अमेरिका प्रस्थान गरेका थिए। अमेरिकाबाटै असोज ५ गते चीनको भ्रमणमा गएका थिए।