सिस्नो-निगुरो किन्न दरबारमार्ग
काठमाडौं महानगरले सडकपेटीबाट साना व्यापारीलाई लखेटिरहेको वेला दरबारमार्गमा भने कृषक र उद्यमीले सहज रूपमा अर्गानिक उत्पादन बिक्री गर्न पाउने हाटबजार सञ्चालन भइरहेको छ।
हरेक शनिबार बिहान नुवाकोटको ध्याङफेदीका कृष्ण स्यानताङ गाउँका उत्पादन बोकेर काठमाडौंको दरबारमार्ग आउँछन्। दरबारमार्गमा लाग्ने हाटमा अर्गानिक कृषि उपज बेच्छन्। साउनदेखि हाटमा आउन थालेका स्यानताङले गाउँमा उत्पादित सिस्नो, निगुरो, कोदाको पीठो, मह लगायत उत्पादन बेच्छन्।
अन्य अर्गानिक उत्पदान बाहेक उनको स्टलमा हरियो सिस्नो खूब बिक्री हुन्छ। सिस्नो किन्न आउनेको भीड नै लाग्ने गरेको छ। अचेल मान्छेहरू स्वास्थ्यका कारणले सिस्नो खोज्न आउन थालेको उनी सुनाउँछन्। “डाक्टरले सिस्नो खाउ भनेकाले खोज्दै आउने धेरै भेटें। कतिले त पकाउन नजान्दा रहेछन्,” स्यानताङले भन्छन्, “मैले पकाउने तरीका पनि भनिदिने गरेको छु।”
दरबारमार्गमा हाट लाग्न थालेपछि गाउँका कृषि उपज बेच्न सजिलो भएको उनी सुनाउँछन्। शुरूमा कसरी बेच्ने भन्ने थाहा नपाएका उनी हाटमा आउँदै गर्दा सामान प्याकिङ, लेबलिङ, प्रवर्द्धनबारे सिकेको बताउँछन्। “पहिला सामान कसरी बेच्ने भन्ने थाहा थिएन। यहाँ आएर सबै कुरा सिकें,” उनी भन्छन्।
स्यानताङ जस्तै ५० भन्दा बढी साना कृषक तथा उद्यमी काठमाडौंको केन्द्र नारायणहिटी दरबार संग्रहालय अगाडिको ओरियन्ट क्याफेमा बिहान ६ बजेदेखि १२ बजेसम्म लाग्ने ‘रैथाने कृषि हाटबजार’ मा आफ्ना अर्गानिक उत्पादन बिक्री गर्न आइपुग्छन्। यसरी हाटबजारमा उत्पादन लिएर आउने कृषक कोही हुम्ला र डोल्पाका छन् त कोही नुवाकोट र सोलुखुम्बुका छन्।
किसानलाई उपभोक्तासम्म पुग्ने भरपर्दो आधार बनेको हाटबजारको समन्वय गरिरहेको रैथाने एग्रो प्रोडक्टका राइबहादुर राई बताउँछन्। “गाउँका स्थानीय किसान र उपभोक्तासँग प्रत्यक्ष भेटघाट हुने बिचौलियारहित परम्परागत हाटको महत्त्वलाई यो रैथाने हाट मार्फत उजागर गर्ने प्रयास गरेका हौं,” राई भन्छन्।
हाटबजार चल्न थालको दुई महीना पूरा भएको छ। प्रत्येक शनिबार हाटबजार सञ्चालन हुन्छ। यसको मूल उद्देश्य उत्पादक र किसानबीच सीधै सम्पर्क गराउने भएको राई बताउँछन्।
“थोरै मस्यौरा बनाउने उत्पादक आफैंले आएर बेच्दा उपभोक्तासँग सम्पर्क हुन्छ। एकले अर्कालाई चिन्ने अवसर पनि हुन्छ। कुन ठाउँको सामान, कसरी बन्छ वा कसरी फल्छ भन्ने जानकारी उत्पादकले उपभोक्तालाई भन्न पाउँछ,” उनी भन्छन्, “किसान र उपभोक्ताबीच अन्तरक्रिया हुन्छ। यसले उत्पादकलाई कृषि उपज प्रवर्द्धन गर्न मद्दत पुग्छ।”
यस हाटबजारमा साना व्यवसायीलाई प्राथमिकता दिइएको छ। ठूला उद्यमीले आफैं पसलकबल भाडामा लिएर उत्पादन प्रवर्द्धन गर्न सक्छन्। साना उद्यमीलाई त्यसो गर्न गाह्रो हुने भएकाले पनि प्राथमिकता दिइएको उनी बताउँछन्। “रैथाने हाट भन्ने अनि बजारू कुरा ल्याएर त भएन। त्यही भएर स्थानीय उत्पादक साथीहरूलाई प्रश्रय दिन खोजेका हौं,” राई सुनाउँछन्।
हाटबजारमा ५० जना कृषक-उत्पादकलाई आफ्ना उत्पादन बिक्री गर्ने ठाउँ उपलब्ध गराइएको छ। हाल ४५ कृषक तथा उत्पादक सहभागी हुने गरेको ओरियन्ट क्याफेका उद्धव ढकाल बताउँछन्।
स्टल राख्ने कृषक तथा उत्पादकसँग कुनै शुल्क लिने गरिएको छैन। “भर्खर उत्पादन गर्न शुरू गरेकालाई स्थान तथा अनुभवको अभाव हुन्छ,” ढकाल भन्छन्, “त्यही भएर नयाँ कृषक-उत्पादकलाई स्थान दिएका छौं। हाम्रो हाटमा आउने धेरै टाढाका पनि छन्। कोही रसुवाबाट आएका छन् भने कोही सोलुबाट आएका छन्।”
यसमा सहभागी भइरहेका २० जनाभन्दा बढी त युवा उद्यमी छन्। कोही मह उत्पादनमा लागेका छन् भने कोही अचार त कोही मस्यौरा उत्पादन गरिरहेका छन्। हाटमा किन्ने र बेच्ने काम त हुने नै भयो, त्यस बाहेक परम्परागत हाटबजारमा जस्तै उत्पादक र उपभोक्ताको भेट पनि भइरहेको छ।
हाटबजारलाई ज्ञान केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको ढकाल बताउँछन्। “हामीले परम्परात सीप र संस्कृतिलाई पनि झकझकाउन पनि खोजेको हौं। त्यही भएर यहाँ ढिकी, जाँतो र तोरी पेल्ने पुरानो कोलको नमूना पनि राखेका छौं,” उनी भन्छन्, “फेरि अहिले सडकबाट पनि साना व्यवसायीलाई हटाइएको अवस्थामा यो प्रयास प्रभावकारी होला कि भन्ने आशा छ।”
हाटबजारमा बिस्तारै उपभोक्ताको आगमन बढ्न थालेको छ। आगन्तुकलाई ग्रीन टी, ताजा मोही निःशुल्क उपलब्ध हुन्छ। “हाम्रो परम्परा के थियो भने गाउँघरमा पाहुना आउँदा सक्नेले दही खुवाउँथे, नसक्नेले मही खुवाउँथे, त्यही चलन चलाइदिन खोजेका हौं,” राई भन्छन्।
यसो गर्नुको अर्को कारण युवा पुस्ताले मौलिक चिज देख्न पाऊन् भन्ने सोच भएको उनीहरूको भनाइ छ। कहिलेकाहीं दुना, टपरी पनि बुन्ने काम हुन्छ। साथै, रैथाने कृषि तथा संस्कृतिको विषयमा विज्ञबाट प्रस्तुति पनि राख्ने गरिएको छ।
आगन्तुक र उत्पादकको उपस्थिति र अपेक्षा उत्साहप्रद छ। अब छिटै बालबालिका लक्षित दुनाटपरी गाँस्ने प्रतियोगिता गर्ने सोच पनि रैथानेको छ।
“यसले बालबालिकालाई बाजेबज्यैसँग नजिक बनाउँछ। आमाबुबा, बाजेबज्यैसँग सिन्का, दुना, टपरी, बोताबारे सिक्न सक्छन्,” राई भन्छन्, “अब सबै जना दुनाटपरी नै बनाउन थालौं भन्न खोजेको होइन। कम्तीमा पनि नयाँ पुस्ताले नेपालीपनबारे केही बुझ्लान् कि भन्ने प्रयास हो।”
त्यस्तै, रैथाने खाना मेला र बीउ मेला गर्ने पनि तयारी रहेको उनी बताउँछन्। बीउ साटासाट गर्ने पुरानो चलनलाई जोगाउन यस्तो योजना बनेको हो।
“विगतमा बीउमा आत्मनिर्भर थियौं। हामीलाई चाहिने बीउ आफ्नै गाउँघरमा उपलब्ध थिए,” उनी भन्छन्, “बीउ किन्नुपर्ने थिएन। त्यो पुरानो चलनको सम्झना दिलाउन पनि खोजेका हौं।”
दरबारमार्गबाट शुरू भएको रैथाने हाट अन्य पनि सञ्चालन गर्ने रैथाने एग्रोको योजना छ। काठमाडौंमै पनि यस्तो हाट १० ठाउँमा गर्न सकियो भने ५०० भन्दा बढी किसान तथा उद्यमीले व्यवसाय अघि बढाउन पाउने राई सुनाउँछन्।