प्रधानमन्त्रीले चीनसँग चुच्चे नक्शाबारे कुरा नउठाउनु गम्भीरः जनमोर्चा
राष्ट्रिय जनमोर्चाले चीन भ्रमणका क्रममा चुच्चे नक्शाबारे कुरा उठाउन नसकेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गरेको छ।
दाहालको भ्रमणअघि चीनले जारी गरेको आफ्नो नक्शामा नेपालको लिम्पियाधुरा सहितको चुच्चे नक्शालाई मान्यता दिएको थिएन। तर, प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा नक्शाबारे कुरा नउठाएको भन्दै जनमोर्चाले आलोचना गरेको हो।
‘प्रधानमन्त्रीले चीन भ्रमणका अवसरमा चीनका प्रधानमन्त्री वा राष्ट्रपतिसँग नेपालको कालापानी सहितको भूभाग भारतीय नक्शामा सामेल गरी चीनले यही भाद्र महीनामा जारी गरेको नक्शाको विषयमा कुनै कुराकानी गरेको वा त्यो सम्बन्धी विषय उठाएको पाइएन,’ जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसका साथै नेपाल-चीन संयुक्त वक्तव्यमा कालापानी सम्बन्धी विषय नपरेकोमा प्रचण्ड सरकारले आफ्नो मुलुकको राष्ट्रियता र सार्वभौमसत्ता र अखण्डताको विषय चीन समक्ष उठाउन नसकेकोमा हाम्रो पार्टी प्रधानमन्त्रीको गम्भीर आलोचना गर्दछ।’
त्यसअघि सन् २०१५ मा नेपाललाई नसोधी नेपाली भूमि लिपुलेक प्रयोगबारे भारत-चीनबीच सहमति भएको थियो। यस विषयलाई पनि प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा उठाउन आवश्यक ठानेनन्। केसीले भनेका छन्, ‘सन् २०१५ मा चीन-भारतले जारी गरेको बुँदा नं २८ का विषयमा छलफल नहुनुलाई हाम्रो पार्टीले गलत मान्दछ तथा प्रधानमन्त्री दाहालले चीन भ्रमणका वेला यस विषयमा कुरा नउठाएकोमा उहाँको गम्भीर आलोचना गर्दछ।’