दिगो विकास लक्ष्यबारे सरोकारवालाको चिन्ता
दिगो विकास लक्ष्यका अवधारणालाई पूरा गर्ने समयसीमा सात वर्ष मात्रै बाँकी रहँदा सरोकारवाला निकायले चिन्ता जनाएका छन्।
दिगो विकास सम्बन्धी विभिन्न १७ वटा लक्ष्य हासिल गर्नुपर्ने भन्दै सन २०१५ देखि २०३० सम्म लागि शुरू भएको थियो। तर, नेपालमा सन्तोषजनक प्रगति नभएको भन्दै सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका हुन्।
दिगो विकास लक्ष्य सम्बन्धी छैटौं सम्मेलनपछि यूथ एड्भोकेसी नेपाल र गैरसरकारी संस्था महासंघले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा नेपालले भने जस्तो उपलब्धि नभएको टिप्पणी गरेका हुन्। गैरसरकारी महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले दिगो विकासका लक्ष्यका पाँच वटा आधारस्तम्भ मानव, पृथ्वी, समृद्धि, शान्ति र साझेदारीमा आधारित भए पनि नारामा मात्रै सीमित भएको टिप्पणी गरे। सुवेदीले भने, “दिगो विकास लक्ष्यका उपलब्धिहरू पूरा गर्न सात वर्ष मात्रै बाँकी छ। अन्तर्राष्ट्रिय जगत्मा नेपालले उपलब्धि गरेको विषयले चर्चा पाइरहेको छ। तर, दिगो विकासको कुरा सिंहदरबार र पाँचतारे होटलभन्दा बाहिर जान सकिरहेको छैन।”
त्यस्तै, यूथ एड्भोकेसी नेपालका सल्लाहकार नरेन खतिवडाले दिगो विकास लक्ष्य सम्बन्धी घोषणापत्र विश्वव्यापी अजेन्डा भएको जिकिर गरे। खतिवडाले भने, “दिगो विकासको लक्ष्य प्राप्तिका लागि नेपालले अन्तर्राष्ट्रिय रूपमै प्रतिबद्धता जनाएको छ। तर, प्रतिबद्धता अनुसार बजेट छुट्याउन सकिरहेको छैन।”
सरोकारवाला पक्षले दिगो विकासका विषयमा सन् २०१७ र २०२० मा समीक्षा गरिएको भए पनि त्यसयता समीक्षा हुन नसकेको गुनासो गरेका छन्। नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले दिगो विकासको मध्यावधि मूल्याङ्कन गर्नुपर्ने बताए। पाण्डेले भने, “यसको मध्यावधि मूल्याङ्कन गर्नुपर्छ। समस्यासँग एकाकार हुनुपर्छ। समाधानका लागि एकीकृत भएर अघि बढ्नुपर्छ।”
नेकपा (एमाले) सांसद सुनीता बरालले दिगो विकासका लक्ष्यबारे संसद् र सरकारलाई सन्देश पुर्याउने प्रतिबद्धता गरेकी छन्। बरालले दिगो विकासका क्षेत्रमा गरेका काम र उपलब्धिबारे सदनमा आवाज उठाउनुपर्ने बताइन्।
यूथ एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले सरकारले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय जगत्मा आफ्नो प्रतिनिधित्व गरिरहेको, तर त्यसको उपलब्धिबारे मुलुकमा समीक्षा नभएको टिप्पणी गरे। उनले दिगो विकास लक्ष्यका उपलब्धि हासिल गर्न सञ्चार जगत्, राजनीतिक दल र नागरिक समाजको सहकार्य अनिवार्य भएको बताए।