एकीकृत समाजवादीले देशव्यापी जागरण अभियान सञ्चालन गर्ने
नेकपा (एकीकृत समाजवादी)ले मेचीबाट जागरण अभियान, २०८० सञ्चालन गर्ने भएको छ।
यही असोज १४ गतेबाट अभियान सञ्चालन हुने एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए। झापाको काँकडभिट्टास्थित मेची नदीबाट बिहान ९ बजे शुरू हुने अभियान असोज २९ गते सुर्खेत पुगेर टुङ्गिने खतिवडाले बताए।
अभियानका क्रममा ठाउँ ठाउँमा साना तथा ठूला सभा गरिने भएको छ। यसक्रममा जनतालाई आफ्ना अजेन्डा सुनाउने तथा समृद्धि र समाजवादको आजको कार्यक्रम के हुन सक्छ भनेर बताउने तथा जनताका सुझाव लिएर अझ स्पष्टताका साथ आउन पहलकदमी गरिने खतिवडाको भनाइ छ।
अभियानले सुशासन, रोजगारी, समृद्धि त्यसभित्रका महत्त्वपूर्ण कृषि क्रान्ति, सीमारक्षा, किसानले उत्पादन गरेको वस्तु सरकारले खरीद गर्नुपर्ने, कृषि उपजको मूल्य निर्धारण गर्नुपर्ने, किसानले आफूले उत्पादन गरेका सामान सरकारले किनेर बचत गर्ने परिस्थिति निर्माण गर्नुपर्ने लगायत विषय उठाइने भएको छ।
“समाजवादी जागरण अभियान, २०८० ले जनतासँग हाम्रो पार्टीलाई जोड्छ, जनताको कुरा सुन्छ र आफ्ना नीति निर्माणमा त्यसलाई अभिव्यक्त गर्छ,” खतिवडाले भने।
एकीकृत समाजवादीले आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने तय गरेको छ। त्यसअघि जनतासम्म पुग्न विभिन्न अभियान सञ्चालन गर्ने जनाइएको छ।