बाल सुधारगृहको छतबाट हाम फालेर दुई जना भागे
पर्साको वीरगन्ज महानगरपालिका-४, बिर्तास्थित बाल सुधारगृहबाट दुई जना भागेका छन्।
बाल सुधारगृहको छतबाट हाम फालेर शुक्रबार बिहान दुई जना भागेका हुन्। जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमारविक्रम थापाले बाल सुधारगृहबाट दुई जना कैदीबन्दी भागेको बताए। “बिहान २ बजेतिर छतबाट हाम फालेर भागेछन्, अलि पछि मात्रै थाहा भयो,” डीएसपी थापाले भने, “खोजी गरिरहेका छौं।”
फरार भएकाहरू कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा बाल सुधारगृहमा ल्याइएका बाल कैदीबन्दी हुन्।
यसअघि वीरगन्ज बाल सुधारगृहमा झडप भएको थियो। झडपमा दुई जना प्रहरी सहित १४ जना घाइते भएका थिए। भक्तपुरको बाल सुधारगृहबाट ल्याइएका कैदीबन्दी र वीरगन्जमा रहेका कैदीबन्दीबीच झडप भएको थियो।
झडपपछि भक्तपुरबाट ल्याइएका कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा सारिएको थियो। सुधारगृहमा १५ विदेशी नागरिक सहित १२६ जना राखिएका छन्।
‘बाल सुधारगृह यातनागृह हुँदा समस्या’
मानव अधिकारकर्मीले भने बाल सुधारगृह यातनागृह जस्तो हुँदा समस्या देखिएको बताएका छन्। सुधारगृहमा हुनुपर्ने आधारभूत सुविधा नहुने, क्षमताभन्दा बढी कैदीबन्दी राख्ने, १८ वर्ष पूरा भइसकेका पनि सुधारगृहमै रहने लगायत कारणले समस्या सिर्जना भएको उनीहरूको भनाइ छ।
असोज ११ गते मानव अधिकारकर्मीको टोलीले वीरगन्जस्थित बाल सुधारगृहको स्थलगत निरीक्षण गरेका थिए। अनौपचारिक सेवा क्षेत्र (इन्सेक)का बागमती प्रदेश संयोजक गणेश भण्डारीले सुधारगृहमा क्षमताभन्दा बढी मान्छे राखिएको पाइएको बताए। “एक कट्ठा १८ धुरमा बाल सुधारगृह छ। नौ वटा कोठामा १२६ जनालाई राखिएको छ,” भण्डारीले भने, “पढ्ने, खेल्ने लगायत कुनै पनि गतिविधि गर्न पाउँदैनन्। सुधारगृह त यातनागृह जस्तै छ।”
भदौ २६ गतेको घटनापछि सुधारगृह मर्मत भइरहेको छ। त्यतिले मात्रै समस्या समाधान नहुने उनको भनाइ छ। सुधारगृहको अनुगमनका क्रममा ३० महीनासम्म पुर्पक्षका लागि थुनामा राखेको र २६ वर्ष उमेर पुगिसक्दा समेत बाल सुधारगृहमा नै रहेको समेत भेटिएको संयोजक भण्डारीले सुनाए।