एमाले बागमतीको अध्यक्षमा दाहाल र ढुंगेलको प्रतिस्पर्धा
नेकपा (एमाले) बागमती प्रदेश कमिटी अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाशप्रसाद ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको छ।
प्रदेश अधिवेशन निर्वाचन कमिटीले प्रकाशित गरेको अन्तिम नामावली अनुसार अध्यक्षका लागि दाहाल र ढुंगेल उम्मेदवार छन्। अध्यक्षमा पाँच जनाले मनोनयन दर्ता गरेको भए पनि तीन जनाले उम्मेदवारी फिर्ता लिएका थिए।
त्यस्तै, उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला उम्मेदवार छन्। सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डित उम्मेदवार छन्।
यसैगरी, उपसचिवमा खुलातर्फ नौ जना उम्मेदवार छन्। जसमा ओमराज पन्त, कृष्णहरि थापा, खड्कबहादुर खत्री, टासी लामा, डबल पाण्डे, प्रेमबहादुर महर्जन, रमेश महर्जन र राजेन्द्र श्रेष्ठ उम्मेदवार छन्। उपसचिवमै महिलातर्फ भक्तकुमारी लामा र रिता गौतम ढकालबीच प्रतिस्पर्धा हुँदै छ।
असोज ८ गते शुरू भएको एमालेको प्रदेश अधिवेशन असोज १० गतेसम्म चल्ने तय भएको थियो। तर, प्रदेश नेतृत्वका लागि सहमति जुट्न नसक्दा दुई दिन लम्बिएको छ।
प्रदेश कमिटीका लागि आज चुनाव हुँदै छ। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा मतदान शुरू भएको छ।
अधिवेशनबाट पाँच पदाधिकारी सहित २४० सदस्यीय प्रदेश कमिटी चयन हुनेछ। अधिवेशनमा एक हजार १७४ प्रतिनिधि सहभागी छन्।