जसपा पर्सामा नयाँ कार्यसमिति गठन गरिएपछि उदाङ्गियो पार्टीभित्रको किचलो
जनता समाजवादी पार्टी नेपाल (जसपा) पर्साको नेतृत्वलाई लिएर पार्टीभित्र किचलो देखिएको छ।
पर्सामा रामनरेश यादवले पार्टी अध्यक्षको जिम्मेवारीमा छन्। तर, असोज १० गते बुधबार पार्टीका केन्द्रीय सदस्य प्रदीप यादवको उपस्थितिमा भेला आयोजना भयो। भेलाले रामनरेश यादव अध्यक्ष रहेको समितिलाई खारेज गरी जसपा पर्साको नयाँ कार्यसमिति गठन गर्यो। नयाँ कार्यसमितिको अध्यक्ष बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेलीलाई बनाइयो।
यस्तै, उपाध्यक्षमा ग्यासुद्दीन मियाँ, अजय चौरसिया र मिथिलेश सिंह, सचिवमा उमेशलाल सहनी, सहसचिवमा सुशील साह कानू, सुनील कुसवाहा र नूर आलम अन्सारीलाई चयन गरियो। कोषाध्यक्षमा प्रेमकुमारी सिंह, सदस्यमा असलम आलम, अजय सर्राफ, बैजुलाल स्वर्णकार, नेक महम्मद अन्सारी, सुनीता शर्मा, सुरज मानन्धर, खैरुदिन मियाँ र प्रतिमा सिंह छन्।
पार्टीका ६ जना केन्द्रीय सदस्य र तीन जना संघीय परिषद् सदस्यको उपस्थितिमा नयाँ कार्यसमिति गठन गरिएको बताइएको छ। नयाँ कार्यसमितिलाई वीरगन्ज महानगरका मेयर राजेशमान सिंह लगायतको पनि समर्थन छ।
रामनरेश र प्रदीपबीचको ‘टसल’
पार्टीका प्रमुख सचेतक समेत रहेका प्रदीप यादवले रामनरेश यादव अध्यक्ष रहेको जिल्ला समिति तदर्थ समिति मात्रै रहेको बताए। तदर्थ समितिको वैधानिकता सकिएकाले पार्टीको विधान अनुसार जिल्ला समिति पुनर्गठन गरिएको उनको दाबी छ।
प्रदीप यादव र रामनरेश यादव
“पुरानो कमिटी चार वर्षअघि बनेको हो। पार्टीको विधानमा तदर्थ समितिको म्याद ६ महीना हुने उल्लेख छ। सङ्कट आउँदा ६ महीना थप गर्न सकिन्छ। तर, तेस्रो पटक म्याद थप गर्ने व्यवस्था छैन,” उनले भने, “कि त पुनर्गठन गर्नुपर्छ कि अधिवेशन गराउनुपर्ने हुन्छ। त्यसैले पुनर्गठन गरेका हौं।”
जिल्ला अध्यक्ष रामनरेश यादव र सचिव तवरेज अहमदले पार्टीलाई गैरसरकारी संस्था जस्तो चलाउन खोजेर पर्सामा पार्टीलाई धराशायी बनाएको उनको आरोप छ।
“नेतृत्व कमजोर भयो भने पार्टीमा कमजोरी देखिन्छ। गत चुनावमा धेरै साथीहरूले चुनावको मुखमा पार्टी परित्याग गरेर जानुभयो। पार्टी निकै कमजोर देखियो। अहिले पनि पार्टीबाट साथीहरू निस्कने क्रम जारी छ,” उनले भने, “पार्टी बचाउनका निम्ति यो कदम चालेका हौं। माथिबाट पनि त्यसै अनुसार सर्कुलर आएको थियो।”
यता, बुधबारै जिल्ला अध्यक्ष रामनरेश यादव र सचिव तवरेज अहमदले संयुक्त विज्ञप्ति निकालेर जिल्ला कार्यसमिति पुनर्गठन नभएको बताएका छन्। केही अराजक प्रवृत्ति र व्यक्तिवादी चिन्तन भएकाहरूले पार्टी संगठन भताभुङ्ग गर्ने, नेता-कार्यकर्ताको मनोबल घटाउने कार्य गरेको विज्ञप्तिमा उल्लेख छ।
रामनरेशका अनुसार आफूलाई खल्तीको मानिस बनाउन नसकेपछि विभिन्न प्रपञ्च रचिएको हो।
“यो कसैको मनको उपज हो, व्यक्तिवादी चिन्तन हो। म कसैको खल्तीमा बस्दिनँ, कसैको पछि लाग्दिनँ। जो उसको अगाडि बोल्दैन, जो साहस गर्दैन, जे भने पनि ‘हुन्छ हुन्छ’ मात्रै भन्ने ‘हुन्छ बहादुर’ हामी होइन,” उनले भने, “मलाई चुनाव हराउने अरू कोही होइन पार्टीकै मानिसहरू हुन् नि। पार्टीलाई धराशायी बनाउने उनीहरू नै हुन्।”
पार्टी आफ्नो कारण नभई प्रदीप यादवको कारण कमजोर भएको उनी बताउँछन्। यस्तै, नेताहरूले पार्टी छोड्नुमा पनि प्रदीप यादव नै जिम्मेवार रहेको उनको आरोप छ।
रामनरेश नेपाली कांग्रेस परित्याग गरी २०७४ को निर्वाचनअघि तत्कालीन संघीय समाजवादी पार्टीमा प्रवेश गरेका थिए। पूर्व जिल्ला अध्यक्ष समेत रहेका प्रदीप दुई पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका छन्। उनी पूर्व वनमन्त्री पनि हुन्। २०७८ मंसीरमा पार्टी अनुशासन विपरीत काम गरेको भन्दै प्रदीपलाई निलम्बन पनि गरिएको थियो।
उनीहरूबीच २०७९ सालको निर्वाचनदेखि नै दूरी बढेको थियो। जसपाका मधेश प्रदेश अध्यक्ष रामबाबुकुमार यादव पर्सा जिल्लामा देखिएको विवाद समाधान गर्ने बताउँछन्।