मणिपालका चिकित्सक र मृतकका आफन्तबीच सहमति
पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सक र मृतकका आफन्तबीच बिहीबार ६ बुँदे सहमति भएको छ।
सहमतिपछि चार दिनदेखि जारी आन्दोलन स्थगन भएको छ। सहमति अनुसार मृतक सुकमाया दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पतालले दुराको गाउँ लमजुङको सुन्दरबजारमा वर्षमा एक पटक विशेषज्ञ सेवा सहित स्वास्थ्य शिविर चलाउने, दुरा जातिको उपचारमा सहुलियत दिने, मृतक दुराको मृत्युको अनुसन्धानमा दुवै पक्षले सहयोग गर्ने, विनय गुरुङ उपर दर्ता भएको कसूर मुद्दामा कानूनी प्रक्रिया पुर्याएर सहजीकरण गर्ने र आन्दोलनका कार्यक्रम आजैदेखि स्थगित गर्न दुवै पक्ष राजी भएका छन्।
चिकित्सकमाथि कुटपिट गर्नेलाई कानूनी कारबाही नभएसम्म आफूहरूले सुरक्षित भएर काम गर्न नसक्ने भन्दै त्यहाँ कार्यरत चिकित्सक गत सोमबारदेखि सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका थिए।
असोज ८ गते उपचारका क्रममा लमजुङ, सुन्दरबजार-६ की ५७ वर्षीया सुकमाया दुराको मृत्यु भएको थियो। दुराको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै डा. अनिल शाहमाथि आक्रमण गर्नुका साथै अस्पताल परिसरमा तोडफोड समेत गरेका थिए।