स्त्रीरोग विशेषज्ञको पुस्तक ‘स्वस्थ महिला’ सार्वजनिक
प्रा.डा. सुमनराज ताम्राकारद्वारा लिखित महिला स्वास्थ्य सम्बन्धी पुस्तक स्वस्थ महिला सार्वजनिक गरिएको छ।
नेपाल प्रज्ञा-प्रतिष्ठानमा बिहीबार आयोजित कार्यक्रममा वी रीड प्रकाशक रहेको स्वस्थ महिला डा. सरोजा पाण्डे, प्रा.डा. सानुमैयाँ दली, प्रा.डा. प्रमिला प्रधान, प्रा.डा. आश्मा राना, प्रा.डा. लता बज्राचार्य, लेखक अमर न्यौपाने, लेखककी श्रीमती चण्डेश्वरी श्रेष्ठ ताम्राकार सहित लेखक ताम्राकारले विमोचन गरेका हुन्।
पुस्तकमा बाल्यकालबाट किशोरावस्थामा प्रवेश गर्दाका शारीरिक परिवर्तन, किशोरावस्थाका जटिलता र जिज्ञासा, महीनावारी, पाठेघर र डिम्बाशयबारे जानकारी, यौनजन्य संक्रमण, बाँझोपन, रजोनिवृत्ति लगायत महत्त्वपूर्ण विषय समेटिएका छन्।
साधारण जानकारीको अभावमा महिलाहरूले कष्ट बेहोर्नुपरेको अनुभवका आधारमा उनीहरूको समस्यामा केन्द्रित रही पुस्तक तयार गरिएको डा. ताम्राकारले उल्लेख गरे।
कार्यक्रममा डा. सपना अमात्य, प्रा.डा. आभा श्रेष्ठ, लेखक अमर न्यौपाने, प्रा.डा. पदमराज पन्त लगायतले पुस्तकको महत्त्वबारे चर्चा गरेका थिए।