‘बाढीको विपद् मान्छेकै हस्तक्षेपले निम्तिन्छ’
‘पानीको प्राकृतिक सिलसिला बुझेपछि भूगोल र समाजसँगको त्यसको सम्बन्ध बुझिन्छ। अनि बल्ल बाढीसँग जुध्न सजिलो हुन्छ।’
हरेक वर्षा याममा नदीनालामा बाढी आउँछ। यो स्वाभाविक प्राकृतिक प्रक्रिया भए पनि जनधनको क्षति हुन्छ। तर, बाढीबाट हुने क्षति कम गर्न सकिएको छैन।
जलस्रोतविद् अजय दीक्षित चार दशकदेखि यही क्षेत्रमा क्रियाशील छन्। नदीनाला र बाढीको प्रक्रियालाई नजिकबाट बुझेका जलस्रोतविद् दीक्षितसँग हिमालखबरका लागि पिंकी श्रीस रानाले गरेको संवादः
आममानिसले बाढी भन्ने बित्तिकै त्यसले ल्याउने विपद्बारे सोच्ने गर्छन्। तपाईंले चाहिं बाढीलाई कसरी हेर्नुहुन्छ?
एउटा सानो कथाबाट शुरू गरौं। सन् १९८९ मा बाढीको अध्ययन गर्न रोहिनी नदी किनार पुगेका थियौं। त्यस वर्षको वर्षा याममा ठूलो बाढी आएको थियो। भैरहवाको एउटा रिक्सा चलाउने भाइलाई लिएर अध्ययनमा जाँदा बाढी देखेपछि उनले भनेका थिए, ‘समुद्र नभएको देशमा कसरी बाढी आयो?’
त्यसैले बाढीलाई बुझ्न तीन वटा कुरा ख्याल गर्नुपर्छ। एउटा, जलवायु प्रणाली, अर्को, भूगोल र तेस्रो, समाज।
जलवायु भन्दा पानीको जीवनचक्र आउँछ। समुद्रबाट घामले उडेको बाफ बादल बनेर पहाडमा वर्षा हुन्छ, त्यही पानी बगेर नदी बन्छ।
नेपालको हकमा बंगाल र अरब सागरबाट वर्षा गराउने बादल आउँछ। यो जलवायु प्रणाली निरन्तर हजारौं वर्षदेखि चलिराखेको छ।
कहिलेकाहीं पानी धेरै पर्छ र बाढी आउँछ। बाढी नआएको वेला बगेको पानीको प्रयोग हुन्छ। तर, बाढी आएको वेला त्यही पानी कसैलाई चाहिंदैन। बाढी आउनु त प्राकृतिक प्रक्रिया भयो।
यसरी पानीको प्राकृतिक सिलसिला बुझेपछि त्यसको भूगोल र समाजसँगको सम्बन्ध बुझिन्छ, बाढीलाई बुझिन्छ र त्यससँग कसरी जुध्ने भन्नेबारे बुझ्न सजिलो हुन्छ।
यो त स्वाभाविक प्रक्रिया भयो। तर, बाढीले गर्दा नदीले जोडिएका देशहरूको सम्बन्ध चिस्सिने गर्छ। जस्तो- बिहारमा हुने क्षतिको दोष नेपाललाई लगाइन्छ नि?
पहिले मुलुकहरू थिएनन्। आधुनिक कालखण्डमा आएर मुलुक बनेका हुन्। त्यसअघि एउटै भौगोलिक क्षेत्रफल थियो। नदीहरू त्यति वेला पनि बग्थे, अहिले पनि बग्छन्। नदीको आफ्नो बाटोमा हिंड्ने तौरतरीका लाखौं वर्षदेखि चल्दै आएको छ। नदीले सिमाना मान्दैन। त्यसैले नदीहरू अन्तरदेशीय हुन्छन्।
नेपालकै केही नदीहरू तिब्बतमा शुरू हुन्छन्। नेपालबाट बगेर भारतको बिहारमा पुग्छन्। त्यसपछि पश्चिम बाङ्लादेश हुँदै समुद्रमा मिसिन्छन्।
नदीसँगै जोडिएर आउने अर्को कुरा हो, कुन मुलुक कुन भागमा पर्छ। पानीको उत्पत्ति माथिल्लो भेगमा हुन्छ र नदी निरन्तर तलतिर बग्छ। नदी बग्नुको कारण नै त्यसको ढलान हो। नदीको उपल्लो भेग र तल्लो भेगबीच अन्तरसम्बन्ध हुन्छ। माथि पानी बढेपछि तल बग्नै पर्यो। त्यसैले मेरो सिमानामा मात्रै नदीको समस्या समाधान हुन्छ अथवा मेरो सिमानामा मात्रै शुरू भयो भन्ने दृष्टिकोण राख्यो भने अपूरो हुन जान्छ।
सीमा क्षेत्रकोे बाढी समस्याको कुरा गर्दा आउने नाम हो, कोशी ब्यारेज। यो किन बनाइएको थियो?
पहिलो कुरा त कोशी ब्यारेजलाई कहिलेकाहीं कोशी बाँध पनि भन्ने गरिन्छ। बाँध र ब्यारेजबीचको फरक बुझ्न जरूरी छ। बाँध भनेको उचाइ धेरै भएको नदीको खोंचमा बनाइने, पानी सङ्कलन गर्ने संरचना हो।
ब्यारेज पनि त्यसरी नै बनाइन्छ, तर फलामको ढोकाले पानी रोक्छ। यसले त्यति धेरै पानी सञ्चय गर्दैन जति खोंचमा बनाएको बाँधले गर्छ। ब्यारेजका दुईतिर नहर बनाइन्छन्। यसको उद्देश्य भनेको पानीको तह अलिक उठाउने र सिंचाइका लागि पानी नहरमा पठाउने हो। कोशीमा बनेको संरचना चाहिं ब्यारेज हो।
कोशी निकै अध्ययन भएको, निकै चर्चामा आएको नदी हो। विश्वभरिका नदीमध्ये कोशीको अत्यन्तै विशिष्ट चरित्र छ। यो नदी चलायमान् भएकाले यसलाई चञ्चले नदी पनि भनिन्छ। कोशी पहिले १५०-२०० किलोमिटर पूर्वतिर बग्थ्यो। बिस्तारै यो पश्चिमतिर बग्दै आउन थालेको हो।
भारतको उत्तर-बिहारमा बर्सेनि बाढीको समस्या आएपछि ब्रिटिश शासनकालमा कोशीलाई नियन्त्रण गर्न अध्ययन गर्न थालियो। त्यही अध्ययनको सिलसिलामा नदीलाई दुवैतिर तटबन्धले बाँध्ने निष्कर्ष आयो। भारत स्वतन्त्र भएपछि बल्ल तटबन्ध बनाइयो।
त्यसपछि तटबन्ध मात्र बनाएर पुगेन। त्यसबाट फाइदा पनि लिनुपर्छ भन्ने तय गरियो। फाइदा त सिंचाइ गरेर आउने भयो। कोशी ब्यारेजका ५६ वटा ढोकासँगै सिंचाइ गर्न पूर्वी नहर र पश्चिमी नहर बनाइए।
कोशी ब्यारेज निर्माणको मुख्य उद्देश्य बाढीको समस्या समाधान गर्ने नै थियो। तर, दशकौंपछि पनि बाढीको समस्या समाधान भएन नि, किन?
सैद्धान्तिक हिसाबले कोशी ब्यारेजका दुवैतिरै तटबन्ध भएकाले बाढी नआउनुपर्ने हो। तर, व्यवहारमा कोशी ब्यारेजको तटबन्धले बाढी रोक्न सकेको छैन। नेपाल र भारतले सन् १९५४ मा तटबन्ध बनाउने सहमति गरे भने १९६२ तिर निर्माण सकियो।
त्यसयता यो तटबन्ध आठ पटक फुटेको छ। यो फुट्दा सबैभन्दा ठूलो क्षति सन् २००८ मा भएको थियो। नेपालमा त त्यति सम्झिँदैनौं, तर बिहारमा त्यो बाढीले ३५-३६ लाख मान्छे प्रभावित भएका थिए।
त्यस्तै, तटबन्ध बनाउँदा नदी प्रणालीको समग्रतालाई हेरिएन। कोशीमा अरुण, तमोर र सुनकोशी मिल्छन्। सुनकोशी पश्चिमबाट आउँछ, तमोर पूर्वबाट आउँछ र अरुण उत्तरबाट आउँछ। तीनै नदी मिसिएको करीब १०-१५ किलोमिटरपछि कोशी पहाडी खोंच काटेर तराईको मैदानमा आइपुग्छ। यस्ता नदी संसारमा विरलै छन्, जुन यति छोटो समय र दूरीमा तराईको मैदानमा आइपुग्छन्।
कोशीमा मिसिने तीनै नदीमा एकै पटक बाढी नआउला, तर माथिल्ला नदीमा बाढी आउँदा तलको नदीमा के असर पर्ला भनेर हेरिएन। तमोरमा बाढी आउँदा सुनकोशी र अरुणमा बाढी नआउला। त्यो स्थितिमा नदीको एउटा व्यवहार हुन्छ। तीनै नदीमा एकै पटक बाढी आयो भने अर्को व्यवहार हुन्छ। त्यो व्यवहारले नदीको चञ्चलपनलाई निर्धारण गर्छ। त्यति वेला यस्तो कुरा हेरिएन।
त्यति वेलाका दस्तावेजमा पनि माथिका नदीलाई नजरअन्दाज गरेको र ती नदीलाई हेर्नै नचाहेको जस्तो देखिन्छ। नदीको व्यवहार समग्रतामा नहेर्नु पनि कमजोरी भयो।
कोशीको अर्को चुनौती त्यसले बगाएर ल्याउने माटो हो। कोशीले अत्यधिक मात्रामा माटो बगाउने गर्छ जुन त्यसको प्राकृतिक चरित्र हो। माटो जति आएर तटबन्धको बीचमा थिग्रियो। अहिले कोशी नदीको तह छेउछाउका जमीनभन्दा कम्तीमा पनि १०-१२ फिट माथि छ, जसले बाढीको जोखिम बढाउँछ।
कोशी ब्यारेज त भारतकै नियन्त्रणमा छ। यसको चुनौती के छ?
कोशी ब्यारेजको नियन्त्रण भारतको बिहार सरकारको हातमा छ। बाढीको अनुगमन गर्ने, ढोका कति खोल्ने, त्यो सबै उनीहरूले नै गर्छन्।
नेपाल र भारतबीच भएको कोशी सम्झौतामा बाढी नियन्त्रणका कुरा छन्, तर नदी व्यवस्थापन, बाढी व्यवस्थापनको कुरा छैन। कोशी सम्झौताले बाढीको समाधान गर्ने भनिएको थियो, त्यो पनि भएको छैन। कृषिको उत्पादकत्व बढाउने भनिएको थियो, त्यो पनि बढेको छैन। बिजुली त भएन नै।
अब जलवायु परिवर्तनले जुन चुनौती छ, ती चुनौतीसँग जुध्न हाम्रा संरचना, संस्था, तौरतरीका, सोच, काम गर्ने विधि पुगेको छैन। हाम्रो अहिलेको चुनौती भनेको त्यही हो।
बर्सेनि देशभित्र र सीमापारि हुने बाढीको समस्यासँग जुध्न के गर्न सकिन्छ?
नेपालका नदीहरू उत्तरदेखि दक्षिण भएर बग्छन्। नेपालका ६ हजार नदी प्रणाली मुख्य नदीहरूमा मिसिंदै भारतको गंगामा पुग्छन्। नेपालका मुख्य नदी कोशी, गण्डकी, कर्णाली र महाकालीमा पानी हिउँबाट पग्लेर आउने गर्छ। वर्षा याममा यी नदीको पानी बढ्छ, पानी बढिसकेपछि नदीले बाढी ल्याउँछ नै। यो त प्राकृतिक प्रकिया भयो।
योसँग जुध्न बहुआयामिक विषय चाहिन्छ। सबैभन्दा पहिले त नदीलाई समग्रतामा हेर्नुपर्छ। अनि बल्ल प्रस्थानबिन्दु सही हुन जान्छ। दोष लगाउने कामभन्दा पनि नदीको चरित्रलाई बुझेर जोखिम कम गर्ने तौरतरीकामा छलफल हुन जरुरी छ।
त्यसो भए बाढीको समस्या सुल्झाउन के गर्नुपर्छ?
पहिलो त नदीको समग्रतामा हेर्नैपर्छ। अर्को, बाढीको प्रकोप प्राकृतिक भए पनि विपद् मानवीय कारणले हुन्छ। यो फरक बुझ्न जरुरी छ। बाढीको घटना प्राकृतिक हो, तर विपद् प्राकृतिक होइन। विपद् मान्छेकै हस्तक्षेपले हुन्छ।
नदी किनारमा बाटो बनाएका छौं, घर बनाएका छौं। नदी बग्ने बाटो र फैलिने ठाउँलाई सङ्कुचित पारेका छौं। पानी बढ्दा नदीलाई बग्ने बाटो चाहिन्छ। नदी त जहाँबाट बग्न सजिलो हुन्छ, त्यहीबाट बग्न थाल्छ। बग्न सकेन भने फुटाइदिन्छ। नदीको यो शैलीलाई ध्यान नदिएका कारणले पनि बाढीको चुनौती भोग्नुपरेको छ।
फेरि खुशीको खबर के छ भने केही वर्षयता बाढीको पूर्वानुमानका विधिहरू प्रयोग भइरहेका छन्। समुदायमा सूचना पुर्याउँदा क्षति कम भएका उदाहरण पनि छन्।