नेपाल तेक्वान्दोमा पदकविहीन, ब्याडमिन्टनमा विजयी शुरूआत
१९औं एशियाली खेलकूद अन्तर्गत तेक्वान्दोमा नेपाल पदकविहीन बनेको छ।
बिहीबार भएको ८० किलोमाथिको तौल समूहमा नेपालका ज्याकी यादव जोर्डनका खेलाडीसित पराजित भए। उनी २-० अङ्कले पराजित भएका हुन्। यादवको पराजयसँगै नेपाल सर्वाधिक आश गरिएको तेक्वान्दोमा पदकविहीन बन्न पुगेको हो।
तेक्वान्दोबाट ११ खेलाडी सहभागी थिए। यसअघि ४९ किलो तौल समूहमा अन्जली तामाङ र ६३ किलो तौल समूहमा गोविन्द आले पराजित भएका थिए।
सन् २००६ पछि नेपालले तेक्वान्दोमा पदक जित्न सकेको छैन। त्यसअघि भने नेपालले एशियाली खेलकूदमा तेक्वान्दोबाट एक रजत र १३ कांस्य प्राप्त गरेको थियो।
त्यस्तै, एशियाली खेलकूद अन्तर्गत ब्याडमिन्टनको टीम इभेन्ट्समा नेपालको पुरुष टोलीले विजयी शुरूआत गरेको छ। नेपालले मंगोलियालाई ३-१ सेटले पराजित गरेको हो। प्रिन्स दाहाल र सुनील जोशीको जोडी विजयी हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
विष्णु कटुवाल र प्रिन्स दाहालको जोडी पुरुष डबल्समा पनि विजयी भएको छ। महिला टीम इभेन्ट्समा भने नेपाल माल्दिभ्ससित ३-१ सेटले पराजित भएको छ। महिला डबल्समा नेपालकी रसिला महर्जन र अनुमाया राईको जोडी पराजित भयो।