गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणा
गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा राजेन्द्रकुमार (आरके) शर्माले उम्मेदवारी घोषणा गरेका छन्।
कतार निवासी शर्माले एक समारोहबीच आगामी कार्यकाल (सन् २०२३-२५)का लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्। बुधबार कतारको राजधानी दोहामा उम्मेदवारी घोषणा सभा मार्फत शर्माले आफ्ना २४ बुँदे वाचापत्र समेत सार्वजनिक गरेका छन्। ‘गैरआवासीय नेपालीको अभियान: स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने नाराका साथ शर्माले २४ कार्ययोजना समेटेर वाचापत्र सार्वजनिक गरेका हुन्।
संघका वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीको सल्लाह र सुझावका आधारमा आफ्ना योजना तथा कार्यक्रम तय गरिएको बताए। आफ्ना योजना तथा कार्यक्रमले गैरआवासीय नेपाली अभियानलाई एकीकृत र सुदृढ बनाउने पनि उनले विश्वास व्यक्त गरे।
“एनआरएनएको उपाध्यक्षका रूपमा प्राप्त अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको छु। योजनाबद्ध रूपमा काम गरेर एनआरएनएको साख र भूमिका विस्तार गर्न मेरो प्रयत्न रहनेछ,” शर्माले भने।
शर्माले विदेशमा बस्ने नेपाली श्रमिकलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने र श्रम बेचेर स्वेदश फर्किने नेपाली श्रमिकको भविष्य सुरक्षित गराउन विशेष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। गैरआवासीय नेपाली अभियानलाई मानवीय सहयोगमा मात्र सीमित नराखी अब नेपालको आर्थिक क्रान्तिका लागि एकजुट भएर लाग्नुपर्ने पनि उनको धारणा छ।
शर्मा सन् २००५ देखि गैरआवासीय नेपाली अभियानमा सक्रिय छन्। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकार हुँदै उनले अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य, मध्यपूर्व संयोजक र अन्तर्राष्ट्रिय समन्वय परिषद् सचिवका रूपमा काम गरिसकेका छन्।
बाग्लुङ जिल्लामा जन्मिएका शर्मा दुई दशकदेखि कतारमा व्यवसायीका रूपमा क्रियाशील छन्।
गैरआवासीय नेपाली संघको ११औं महाधिवेशन यही असोज ३० गतेबाट शुरू हुँदै छ। यस महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ।