एम्बुलेन्स दुर्घटनामा ११ घाइते
सुनसरी र उदयपुरका दुई छुट्टाछुट्टै ठाउँमा मंगलबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
झापाबाट उदयपुर सदरमुकाम गाईघाटतर्फ जाँदै गरेको मे १ च ६६१ नम्बरको एम्बुलेन्स बिहान ३ः३० बजे उदयपुरको त्रियुगा नगरपालिका ६ चुरेमा अनियन्त्रित भई दुर्घटना हुँदा ७ जना घाइते भए ।
एम्बुलेन्समा सवार त्रियुगा ६ का सदहरुल मिया, उनकी छोरी सहिजा (२८), स्थानीय मोहमद हमिद, सहिपुन खातुन, हजरा खातुन, अम्बिका विक र उनका छोरा अशोक (११) घाइते भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
घाइते सबैको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ भने चालक र एम्बुलेन्स इलाका प्रहरी कार्यालय जलजलेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
यस्तै उदयपुरकै उदयपुरगढी गाउँपालिका १ बाट प्रसूति व्यथा लागेकी महिलालाई लिएर विराटनगरतर्फ आउँदै गरेको स१झ ५२६ नम्बरको एम्बुलेन्स सुनसरीको गढी गाउँपालिका २ को थलाहा पुलमा ठोक्किएर दुर्घटना भएको छ ।
दुर्घटनामा उदयपुरगढी प्रसूतिकी बिरामी सबिना बास्तोला (३२), उनका श्रीमान खेमबहादुर बास्तोला, स्थानीय सीताराम बास्तोला घाइते भएका छन् ।
उनीहरूको विराट शिक्षण अस्पताल मोरङमा उपचार भइरहेको छ । घाइते चालक नीरबहादुर पुलामी मगरको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।