रास्वपाले भन्यो- सामाजिक सम्बन्धमा खलल पुर्याउन स्वार्थ समूह सक्रिय भए
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशका विभिन्न ठाउँमा धार्मिक, जातीय र सम्प्रदायका आधारमा सामाजिक सम्बन्धमा खलल पुर्याउन केही स्वार्थ समूह सक्रिय भएको निष्कर्ष निकालेको छ।
रास्वपाको केन्द्रीय समिति तथा संसदीय दलको असोज १० मा बसेको संयुक्त बैठकले सद्भाव बिथोल्ने गतिविधि नियन्त्रण गर्न समेत सरकारलाई आग्रह गरेको छ। धरान र मलंगवामा सदियौंदेखि कायम रहेको सद्भाव बिथोल्न केही समय पहिले नियोजित प्रयास भएको रास्वपाले जनाएको छ। यद्यपि स्वार्थ समूह कुन कुन हुन् भन्ने चाहिं रास्वपाले खुलाएको छैन।
पार्टी प्रवक्ता मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न र अल्पसंख्यकको सम्मान गर्न अपील गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘जुनसुकै धर्मावलम्बी वा समुदायको भावनालाई जुनसुकै आवरणमा चोट पुर्याई सामाजिक सद्भाव बिथोल्न खोज्ने गतिविधिलाई तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउँछौं।’